नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गरे । 

‘विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्त्व हाम्रो समाजको अडिग आधार हुन्,’ उलने भने, ‘ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुञ्जिएका छन् ।’

 प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गरे । सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवादविरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गर्दै उनले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्त्वपूर्ण मोड भएको आफूले पाएको बताए । 

 उनले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवरोधको सामना गर्दा आफू अझ बलियो भएको बताए । उनले हाम्रा पूर्वज केवल चिन्तक मात्र नभई आविष्कारक र दूरदर्शीसमेत भएको उल्लेख गर्दै उनीहरूको योगदान एसिया मात्र नभई संसारका लागि पनि एक धरोहर भएको बताए। 

‘हामीले हाम्रो हिस्साका अशान्ति र चुनौतीहरू भोगेका छौँ । हामीले अन्धकारपूर्ण चरण पनि देखेका छौँ । मानिसलाई अभाव र अत्याचारको सिकार हुँदै देखेका छौँ,’ उनले भने, ‘यसको बाबजुद पनि आशा र ज्ञानका किरण र नवप्रवर्तनको प्रकाश हाम्रो क्षेत्रमा कहिल्यै मेटिएको थिएन ।’

आजको एसियाको उत्थान र पुनरुत्थान यस सभ्यतागत आधारमा आधारित छ ।  आज विश्वका कैयौँ देशले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापनाको कुरा गरिरहेका छन्, तर विडम्बना धेरै विकसित राष्ट्रहरूमा पनि आजका दिनमा पनि मानिसहरू लोकतन्त्रका लागि लड्नु परिरहेको अवस्था रहेको उनको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक रूपान्तरणको यात्रा विश्व इतिहासमा एक अद्वितीय मोडलका रूपमा रहेको उल्लेख गरे । संसारका थुप्रै राजनीतिक संघर्ष प्रायः एकल वर्गका प्रतिनिधिहरूले नेतृत्व गरे पनि नेपालको आन्दोलन सामूहिक प्रयत्नमार्फत सफल भएको उनको भनाइ थियो । मार्क्सवादको दर्शनबाट प्रेरित र जननेता मदन भण्डारीको दूरदर्शी नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी एमालेले जनताको बहुदलीय लोकतन्त्रको सिद्धान्तको विकास गरेको उनले बताए। 

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको जनताको लोकतान्त्रिक दृष्टिकोण चीनको ऐतिहासिक परम्परा, संस्कृति, र सामाजिक–आर्थिक विकासका आधार भएको आफूले पाएको बताए । उनले नेपालको संविधान समाजवादउन्मुख रहेको जानकारी गराउँदै हाम्रो आवश्यकता र आकांक्षासँग मेल खाने समाजवादको मोडेलको मजबुत आधार स्थापनाका लागि आफूहरू अगाडि बढिरहेको उल्लेख गरे । 

‘समाजवादलाई हाम्रो राष्ट्रिय आकांक्षामा समेट्न ‘समृद्ध नेपाल, खुसी नेपाली’को नाराका साथ हामी आर्थिक समानता र सामाजिक भलाइमा समर्पित छौँ,’ उनले भने । प्रधानमन्त्री ओलीले समग्र लोकतन्त्रको पूर्ण सम्भावनाको उपयोग गर्नका लागि ‘कसैलाई पनि पछाडि नछोड्ने’ उद्देश्यका साथ आफूरू अगाडि बढेको बताए । नेपाल र चीन बुद्ध र कन्फ्युसियसको भूमि रहेको उल्लेख गर्दै उनले दुवै देशबिच सुमधुर सहअस्तित्व र दीर्घकालीन मित्रताको लामो इतिहास रहेको बताए । उनले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै यसलाई सबै राजनीतिक दलहरूले समर्थन गरेको पनि बताए । 

सुझावित समाचार