चोरीलगायत विभिन्न अपराधमा १३ पटक पक्राउ परेर छुटेका व्यक्ति फेरि पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका– १५ घर भई काठमाडौंको भोटेबहाल बस्ने २५ वर्षीय विनोद रसाइलीलाई ललितपुर प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
ललितपुरमा विभिन्न कार्यालय तथा घरमा प्रवेश गरी ल्यापटप चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । रसाइली यसअघि चोरी मुद्दामा आठपटक र अभद्र व्यवहार मुद्दामा पाँचपटक पक्राउ परेर छुटेको ललितपुर परिसरका एसएसपी शेखर खनालले बताए । उनीसँग १० वटा ल्यापटप प्रहरीले बरामद गरेको छ । चोरीमा उनीसँगै संलग्न डडेल्धुरा बागेश्वरीका २९ वर्षीय भोगबहादुर थलाल पनि पक्राउ परेका छन् । भोजबहादुर पनि यसअघि चोरी मुद्दामा एकपटक पक्राउ परिसकेका अभियुक्त हुन् ।
चोरी मुद्दामा पक्राउ परेका आरोपीहरू अदालतबाट धरौटीमा छुट्ने र फेरि यस्तै अपराधमा लाग्ने प्रवृत्ति रहेको प्रहरीले जनाएको छ ।