सप्तरीको रूपनगर क्याम्पसले वरपरका सरकारी विद्यालयका १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसले जीवन उपयोगी सिप सिकाउने उद्देश्यले यस्तो तालिम आयोजना गरेको क्याम्पसले जनाएको छ। तालिमले विद्यार्थीहरूको व्यावहारिक ज्ञानमा वृद्धि गर्ने र तिनीहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने लक्ष्य राखेको जानकारी क्याम्पसले दिएको छ।
तालिम मूल रूपमा विद्यार्थीहरूको वित्तीय साक्षरतामा सुधार ल्याउन केन्द्रित थियो। क्याम्पसले वित्तीय साक्षरताको महत्व दैनिक जीवनमा वित्तीय व्यवस्थापनको भूमिका, वचत र लगानीको महत्व, भविष्यको सुरक्षाका लागि बचत र सही ढंगले लगानी गर्ने तरिकाहरू, ऋण र खर्च व्यवस्थापन ः उचित र जिम्मेवार तरिकाले ऋण लिने र खर्चको योजना बनाउने उपायहरू, बैंक प्रणाली र प्रविधिको उपयोग, बैंक तथा वित्तीय संस्थाहरूको भूमिका र डिजिटलर अनलाइन बैंकिङको प्रयोग, अनलाइन सुरक्षा र वित्तीय ठगीबाट बच्ने उपायहरूको तालिम दिएका थिए।
तालिममा रूपनगर नन्दराज संग्रौला क्याम्पस वरपर रहेका ६ वटा सरकारी विद्यालयका ६५ भन्दा बढी विद्यार्थी सहभागी भएको क्याम्पस प्रमुख प्राध्यापक दीपक गजुरेलले जानकारी दिए। उनका अनुसार शंकर मावि, रूपनगर, सर्वोदय मावि, कञ्चनपुर, जनचेतना मावि, घोंगीदाहा, ठाकुरजी मावि, जन्डोल, महिकर मावि, पर्सवनी, र नन्द उमा पब्लिक मावि, ओद्राहाका विद्यार्थी तालिममा सहभागी थिए।
वित्तीय साक्षरता तालिमलाई प्रभावकारी र लक्षित समूहमा पुर्याउने उद्देश्यले १२ कक्षामा व्यवस्थापन विषय लिएर अध्ययन गरिराखेका विद्यार्थीहरूलाई तालिममा सहभागी गराइएको क्याम्पस प्रमुख गजुरेलले जानकारी दिए। सामुदायिक क्याम्पसले समाजलाई गर्ने योगदान अन्तर्गत तालिम आयोजना गरिएको उनको भनाइ थियो।
‘समुदायद्वारा सञ्चालित क्याम्पस भएकाले हामी हाम्रो समाजका युवालाई व्यावहारिक सिप सिकाएर रोजगारीयोग्य बनाउने प्रयासमा छौँ,’ उनले भने, ‘आगामी दिनमा डिजिटल साक्षरता, आधारभूत कम्प्युटर तालिम, ग्राफिक डिजाइन, फोटो इडिटिङ, लेखा व्यवस्थापन, लोकसेवा तयारीजस्ता विषयमा पनि तालिम सञ्चालन गर्नेछौँ।’
तालिमको प्रमुख प्रशिक्षकको भूमिकामा नबिल बैंक लिमिटेड, कञ्चनपुर शाखाका प्रबन्धक सुरज ठाकुर र उनका सहयोगीहरू थिए बैंकिङ र वित्तीय क्षेत्रमा लामो अनुभव भएका ठाकुरले विशेष गरी डिजिटल बैंकिङ र अनलाइन सुरक्षासम्बन्धी विषयमा सहभागीहरूलाई ज्ञान प्रदान गरेका थिए।
ठाकुरजी माध्यमिक विद्यालयका शिक्षक भूपेन्द्र यादवसमेत सहभागी भएको तालिममा सहभागीहरूले शिक्षा र वित्तीय साक्षरताको महत्वमा जोड दिएका थिए। रूपनगर क्याम्पसकी अध्यापिका लक्ष्मी श्रेष्ठले तालिमबाट विद्यार्थीहरूलाई वित्तीय ज्ञान र व्यावहारिक सिपमा सक्षम बनाउँदै समाजको समग्र आर्थिक सचेतना बढाउने अपेक्षा राखेको बताइन्।
सहभागीहरूले यस्तो तालिमले उनीहरूको दैनिकीमा ठुलो प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्। आगामी दिनहरूमा क्याम्पसले यस्ता अन्य जीवन उपयोगी तालिमहरू आयोजना गर्दै जाने योजना रहेको क्याम्पस प्रमुख गजुरेलले जानकारी दिए। उनले भने, ‘रूपनगर क्याम्पसले यस प्रकारका कार्यक्रमहरू सञ्चालन गरी शिक्षाको क्षेत्रलाई मात्र नभई समग्र समाजमा सकारात्मक प्रभाव पुर्याउने कार्य गरिरहेको छ। यो प्रयासले समाजका युवाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन योगदान पुर्याउने विश्वास क्याम्पसले लिएको छ।’