काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबिचको आपसी समन्वयमा भदौ १० गतेयता विपत् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकारले कुनै पनि किसिमको सम्झौता नगरी विपत् व्यवस्थापनमा निरन्तर काम गरिरहेको स्पष्ट पारे।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी विपत् व्यवस्थापनको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न सरकार केन्द्रित रहेको बताए।
‘हामीले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपत् व्यवस्थापनको काम सक्दै छौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको जानकारी दिए।
उनले विपत् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको बताए। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत सरकारले आवश्यक काम अघि बढाइरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले विपतकाे समयमा आफ्नो ज्यानसमेत जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरे।
उनले विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबिच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिँदै उपलब्ध स्रोत तथा साधनको अधिकतम परिचालनमार्फत प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन सरकार प्रतिबद्ध रहेको बताए।