प्रकृतिको कुचीकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ । वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण संघले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो । गिद्धका गुँड अनुगमनका लागि संघका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन् ।
‘राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, वासस्थानबारे अध्ययन–अनुगमनको कार्य हुँदै आएको छ,’ संघका चराविज्ञ हिरुलाल डगौराले भने, ‘यसै अवसरमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गिद्धको गुँडको अवस्थाबारे अनुगमनको कार्य गरिरहेका छौँ ।’
उनका अनुसार कैलालीको खुटिया, बेली, जोनापुर र फकलपुर तथा कञ्चनपुरको लालझाडी, पर्सिया, कञ्ज, बन्साहा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गिद्धका गुँड अनुगमनको कार्य भइरहेको छ । कैलाली र कञ्चनपुरमा अनुगमनको कार्य पूरा भएपछि डडेल्धुरा र बैतडीमा पनि गिद्धको गुँड तथा अवस्थाबारे अध्ययन–अनुगमनको कार्य हुने उनले बताए।
गिद्धका गुँड अनुगमनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयसँग समन्वय गरिएको चराविज्ञ डगौराको भनाइ छ । ‘क्यामेरा, बाइनाकुलर, टेलिस्कोप, जिपिएसको प्रयोग गरी अनुगमनको कार्य गर्छौँ,’ उनले भने, ‘यसबाट गुँड के–कति छन् भन्ने जानकारी त हुन्छ नै गिद्धको संख्या यकिन गर्ने कार्य पनि हुन्छ ।’
गत वर्षको अनुगमनमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गरी डंगर, सानो खैरो, सेतो, हाडखोर, हिमाली र सुनगिद्धका गरी १४३ गुँड फेला परेका थिए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले डंगर, सानोखैरो र सुनगिद्धलाई अति संकटापन्न तथा सेतो गिद्धलाई संकटापन्नको सूचीमा सूचीकृत गरेको छ ।
विश्वमा २३ प्रजाति र नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । गिद्धले आफैँले सिकार नगरी मरेका जनावरको सिनो मात्रै खाने भएकाले यसलाई अहिंस्रक मांसाहारी पन्छीका रूपमा लिइने गरिन्छ ।
सिनो खाने भएकाले यसले पर्यावरण सन्तुलित राख्नमा मद्दत पुर्याउने गर्दछ । एक सर्वेक्षणअनुसार गिद्ध सिनोको खोजीमा दैनिक एक सय किलोमिटरको रेडियसको दूरीमा उड्ने गरेको पाइएको छ ।