भीमदत्त– ६ को वडाध्यक्षमा कांग्रेसका चन्द निर्वाचित

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर चन्द निर्वाचित भएका छन्। कांग्रेसका चन्दले एमाले उम्मेदवार बहादुर चन्दलाई ६२० मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन्। कांग्रेसका उम्मेदवारले १ हजार १०७ मत ल्याउँदा एमाले उम्मेदवारले ४८७ मत ल्याए।

तेस्रोपटक चुनाव लडेका राप्रपा उम्मेदवार सुशीलकुमार भट्टले ३६९, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८, एकीकृत समाजवादीका जितेन्द्र चन्दले २२५, माअोवादी केन्द्रका नानाराम ओलीले १२२, राप्रपा नेपालका दिलबहादुर धामीले २४ र नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले १२६ मत ल्याएका छन्।

यसैगरी, नेमकिपाका दलबहादुर बोहराले १२, जनमत पार्टीका यादव चन्दले पाँच, स्वतन्त्र उम्मेदवार थानेश्वरप्रसाद लेखकले १४२ र अर्का स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९ मत ल्याए। कुल पाँच हजार ४२३ मतदाता रहेको उक्त वडामा दुई हजार ९९१ मत खसेकोमा ५४ मत बदर भएको छ।

मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले आइतबारै मध्यरातमा मतगणना सम्पन्न भएको बताए। भयरहित वातावरणमा सम्पन्न उपनिर्वाचनमा यो वडा पुनः कांग्रेसले जितेको छ।

सुझावित समाचार