पूर्वराजाको चियाबगानका मजदुरमाथि व्यवस्थापनको ज्यादती : बगानको बस्तीमा संरचना बनाउन रोक, वडाको बजेट कार्यान्वयनमा चुनौती

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण
पूर्वराजाको चियाबगानका मजदुरमाथि व्यवस्थापनको ज्यादती : बगानको बस्तीमा संरचना बनाउन रोक, वडाको बजेट कार्यान्वयनमा चुनौती

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चियाबगान

तीन पुस्तादेखि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा पसिना बगाएका मजदुर र तिनको परिवारले पछिल्लो समय व्यवस्थापनको ज्यादती भोग्नुपरेको छ । बगानका मजदुर र तिनका परिवारको बसोवास दमक नगरपालिका वडा नम्बर ४ र ९ मा छ । दुई वर्षदेखि बगानका मजदुर बसोवास गरेको क्षेत्रमा व्यवस्थापनले संरचना निर्माण गर्न नदिने, सरकारी निकायले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न नदिनेलगायत गतिविधि गरिरहेको छ ।

गत साउनमा बेल्डाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दमक– ४ मा रहेको बगानका मजदुरको बस्तीमा खानेपानी जडानका लागि काम सुरु ग¥यो । वरिपरिका सबै बस्तीमा खानेपानीको पाइप विस्तार गरेपछि करिब ११८ घरधुरी रहेको बगानका मजदुरको बस्तीमा शुद्ध पिउने पानीका लागि पाइप विस्तार गर्न खोजेको थियो । तर, बगान व्यवस्थापनले नदिएपछि खानेपानी विस्तारको काम रोकिएको बेल्डाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोखरेलले बताए । ‘यो बस्ती अस्थायी हो भनेर व्यवस्थापनले दिएन । त्यसपछि विस्तार गर्न सकेनौँ,’ उनले भने ।

बगानका मजदुरको बसोवास रहेको बस्ती

विगतमा पक्की संरचना बनाएर बसेका बगानका मजदुर यो घटनापछि झस्किएका छन् । उनीहरूलाई कतै बगान व्यवस्थापनले बिचल्ली त बनाउने होइन भन्ने चिन्ता छ । ‘हामीले पुस्तौैँदेखि बगानमा पसिना बगाएका छौँ । तर, अहिले आएर हामीलाई लखेट्न खोजिँदै छ,’ ऊर्जावान् समय बगानको मजदुरीमा बिताएर अवकाश पाएका बाबुराम घिमिरेले भने, ‘विगतमा केही रोक थिएन । अहिलेको व्यवस्थापनको गतिविधिले झस्काएको छ । तर, हामी त्यसै हट्दैनौँ ।’

हिमालय महालक्ष्मी चियाबगानको व्यवस्थापक भएर नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक श्यामल सुब्बा आएका छन् । उनी आएपछि बगानका मजदुरको बस्तीमा कडाइ गर्न थालिएको हो । ‘हाम्रो वरिपरि सबैतिर खानेपानी छ । तर, हामी अहिले पनि कल (ट्युबेल)को पानी खान्छौँ । अहिले पानी खानै नहुने गरी रातो आउन थालेको छ,’ बगान क्षेत्रमा बसोवास गर्ने राजु श्रेष्ठ भन्छन्, ‘तीन पुस्ताले यही बगानमा पसिना बगायौँ । अहिले यसैको पुरस्कारस्वरूप यस्ता गतिविधि हुन थालेको छ । हामीलाई शुद्ध पिउनेपानीबाट पनि वञ्चित गराइयो ।’

मजदुरप्रति दिनप्रतिदिन कठोर बन्दै बगान व्यवस्थापक
व्यवस्थापक बनेर आएका सुब्बा बगानका मजदुरप्रति दिनप्रतिदिन कठोर हुँदै गएका छन् । बगानका मजदुर बसोवास गर्ने क्षेत्रमा हुने खेतीमा समेत सिँचाइका लागि बोरिङ सञ्चालन गर्नसमेत दिएका छैनन् । ‘बगानको मजदुरी गर्दै ०४० देखि १५ कट्ठा जमिनमा खेती गर्दै आएको छु । पहिला बोरिङ राखेर सिँचाइ गर्दै आएको हो । गत वर्ष मेरो इमानदारिता देखाएर सोध्न गएँ । व्यवस्थापकले बोरिङ राख्न दिनुभएन,’ बगानका अवकाशप्राप्त मजदुर तथा दमक– ९ का वडासदस्य नरेश सुनुवारले भने, ‘मेरो छिमेकमा एकजनाले भान्साघर बनाउन ब्लक पनि ल्याए । तर, भान्साघरसम्म बनाउन दिएनन् । अहिले बगानका मजदुरमाथि व्यवस्थापनको ज्यादती बढेको छ ।’

व्यवस्थापक सुब्बाले विगतदेखि काम गर्दै आएका मजदुर युनियनलाई समेत अंकुश लगाउने प्रयास गरेका छन् । लामो समय मजदुरको पक्षमा काम गर्दै आएर हाल अवकाशप्राप्त मजदुर नेताहरूलाई ‘बाहिरको मान्छे’ भन्दै निरुत्साहित गर्ने गरेका छन् । विगतदेखि नै मजदुर युनियनले प्रयोग गर्दै गरेको कार्यालय प्रयोग गर्न खोज्दासमेत उनले अंकुश लगाउने गरेका छन् । गत असोजमा मजदुर संगठनको कार्यालय सञ्चालन गर्न खोज्दा मजदुर नेतृ तथा दमक– ९ की वडासदस्य रिना विश्वकर्मालाई व्यवस्थापक सुब्बाले दुव्र्यवहार गरेका थिए । ‘म नेपाल चियाकफी श्रमिक युनियन, हिमालय महालक्ष्मी चियाबगानको सहसचिव छु । दसैँका वेला व्यवस्थापन मजदुरजन्य संगठनले उपलब्ध गराएको कार्यकक्षमा सरसफाइ गर्दा व्यवस्थापकले दुव्र्यवहार गरे । उनले अहिलेसम्म पनि आँखाको तारो बनाएका छन्,’ विश्वकर्माले भनिन्, ‘मलाई गाली गलौज गरे । तेरो घरमा आगो लगाइदिन्छुसम्म भने ।’

हिमालय–महालक्ष्मी चियाबगानको बस्तीमा बसोवास गर्ने स्थानीय

बगानका मजदुरमाथि व्यवस्थापकले ज्यादती गर्ने मात्र होइन, मजदुर बस्तीमा सरकारी निकायका बजेटसमेत कार्यान्वयन गर्न रोक लगाएका छन् । यसमा दमकका नगर प्रमुख रामकुमार थापाले पनि सहयोग गरेको वडासदस्यसमेत रहेका अवकाशप्राप्त मजदुर नरेश सुनुवारको दाबी छ । थापा राप्रपाका प्रदेश अध्यक्ष हुन् । बगानले दमक नगरपालिकालाई नौ करोडभन्दा बढी सम्पत्ति कर तिर्न बाँकी छ । नगर प्रमुख थापाले पूर्वराजा शाह दमक आउँदा भेट्ने गरेका छन् । तर, उनले बगानले नगरलाई तिर्नुपर्ने कर तिर्नलाई ताकेता गर्न सकेका छैनन् । दमक नगरपालिकामा मजदुरका समस्या लिएर जाँदा थापाले बेवास्ता गर्ने गरेको उनको दाबी छ ।

बगानका व्यवस्थापक सुब्बाले गत वर्ष मात्रै दमक– ९ को वडा कार्यालयले बगानको मजदुर बस्तीका लागि ल्याएका तीनवटा योजना कार्यान्वयन गर्न दिएका थिएनन् । दमक–९ ले आर्थिक वर्ष ०८०÷८१ मा बगानका मजदुर बसोवास गर्ने झरना टोलमा ड्रेन निर्माणका लागि चार लाख, सोही टोलमा सामुदायिक भवन बनाउन तीन लाख र सूर्योदय टोलमा सामुदायिक भवन निर्माणका लागि चार लाख बजेट विनियोजन गरेको थियो । तर, उक्त बजेट कार्यान्वयन गर्न बगान व्यवस्थापकले नदिएको दमक– ९ का वडाध्यक्ष कुवेर भट्टराईले बताए । ‘उहाँहरूले बस्ती स्थानान्तरण गर्दै छौँ, यहाँ बस्ती नहुन पनि सक्छ भनेर रोक्नुभयो । विगतमा त काम भएको थियो । गत आर्थिक वर्षमा मात्र रोकिएको हो,’ उनले भने, ‘यसपटक पनि बजेट विनियोजन भएको छ । बगान व्यवस्थापनबाट सहमति आयो भने मात्र हामी कार्यान्वयन गर्छौँ ।’

चिया बगानका व्यवस्थापक श्यामल सुब्बाले भने वडाले समन्वय नगरी बजेट विनियोजन गर्दा कार्यान्वयन हुन नदिएको बताए । ‘वडाको बजेट लैजाँदा एकपटक सोध्नुहोस् भनेको हो । तर, उहाँहरूले मनोमानी ढंगले आफ्नो समर्थक भएकोमा मात्र लैजानुभयो । त्यही भएर विश्वास गरिनँ,’ उनले भने, ‘वडाले ल्याउने योजनाले हाम्रो बगानलाई बढी घाटा भयो । व्यक्तिलाई बढी फाइदा भएपछि रोकेको हो । उहाँहरू र हाम्रो समन्वय भएन ।’

सुब्बाले दमक– ४ स्थित बगानका मजदुर बस्तीमा ल्याउन लागिएको खानेपानी ल्याउँदा जग्गाधनी प्रमाणपुर्जा माग्ने र मजदुरको नाममा नभएपछि नदिएको बताए । यसरी खानेपानी ल्याउन दिँदा पानीको बिलमा बगान व्यवस्थापन जिम्मेवार हुनुपर्ने अवस्था आउने भएकाले खानेपानी विस्तारमा रोक लगाइएको उनले बताए । यस्तै, उनले मजदुर युनियनहरूलाई गतिविधि गर्न रोक नलगाइएको दाबी गरे । ‘रिना विश्वकर्मा भन्ने मजदुर छ । ऊ दमक– ९ को वडासदस्य पनि हो । उसले जग्गा जबर्जस्ती हडप्यो । त्यो जग्गा कहिल्यै पनि मजदुरको थिएन,’ उनले भने, ‘वडाको निर्वाचित भएको सदस्य भनेर हामीलाई पनि टेर्दैन । उसले त्यो कोठा हडपेको हो । मजदुर युनियनलाई कहाँ ठाउँ दिने भन्ने मेरो अधिकारको कुरा हो । मैले आवश्यकताअनुसार अर्को ठाउँमा पनि त सार्न सक्छु नि ! बाहिरका अवकाशप्राप्त पनि यहाँ नेतागिरी गर्न खोज्छन् । पहिला व्यवस्थापन कमजोर थियो । अहिले हामी त कानुनविपरीत केही गर्न दिँदैनौँ ।’

सुझावित समाचार