डोनाल्ड ट्रम्पले जब सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनिएर विश्वलाई चकित पारेका थिए, उनले मिसिगन, पेन्सिलभेनिया र विस्कन्सिनजस्ता परिवर्तनशील मतदाता भएका (स्विङ) राज्यमा जितेका थिए । जसले परम्परागत रूपमा डेमोक्य्राटलाई समर्थन गर्दै आएका थिए । यही कथा यो नोभेम्बरमा पनि दोहोरिएको छ । देशको पूर्वऔद्योगिक क्षेत्रले उल्लेखनीय रूपमा ट्रम्प र ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ भन्ने नारालाई समर्थन गरेको थियो । एक्जिट पोलका अनुसार प्रमुख राज्यमा धेरैजसो मजदुर वर्गका मतदाता (कलेज पढ्न नपाएका र वार्षिक ३० हजारदेखि ९९ हजार नौ सय ९९ अमेरिकी डलर आम्दानी भएका) ले ट्रम्पलाई समर्थन गरेका थिए । यो समर्थन श्वेत, ल्याटिन र अश्वेत जातिका मतदाता सबैमा लागू हुन्छ ।
यो प्रवृत्ति अमेरिकामा मात्र सीमित छैन । जुन महिनामा फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा ५७ प्रतिशत मजदुर मतदाताले दक्षिणपन्थी नेसनल ¥याली (¥यासम्बलमेन्ट नेसनल) लाई मतदान गरेका थिए । सेप्टेम्बरमा अस्ट्रियाको आमनिर्वाचनमा ५० प्रतिशत मजदुर मतदाताले लोकरिझ्याइँवादी फ्रिडम पार्टी अफ अस्ट्रिया (एफपिओ) लाई समर्थन गरेका थिए । त्यसैगरी जर्मनीको ब्रान्डेनबर्ग राज्य निर्वाचनमा उग्र–दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एफएफडी) ले ४६ प्रतिशत मजदुरको मत जितेको थियो ।
सन् २०१५ देखि २०२३ सम्म सत्ता चलाएको पोल्यान्डको दक्षिणपन्थी लअ एन्ड जस्टिस पार्टी (पिआइएस) ले किन लोकरिझ्याइँवादी पार्टी युरोप र अमेरिकाका मजदुरबिच लोकप्रिय छन् र मध्य–वामपन्थीले कसरी यो वर्गलाई पुनः जित्न सक्छ भन्ने उदाहरण दिन्छ । पिआइएसले निवृत्तिभरण उमेर घटाउने, न्यूनतम तलब बढाउने र परिवारलाई नगद सहयोग प्रदान गर्नेजस्ता सामाजिक लोकतन्त्रवादी प्राथमिकतासँग मेल खाने नीति लागू गरेको थियो । उसो त विपक्षी दलको गठबन्धनले बहुमत पाए पनि गत निर्वाचनमा पिआइएसले लगभग आधा पोलिस मजदुरको मत जितेको थियो ।
फाउन्डेसन फर युरोपियन प्रोग्रेसिभ स्टडिज र फ्रेडरिक–एबर्ट–स्टिफ्टुङका तर्फबाट गरिएको मेरो अनुसन्धानले पोल्यान्डका साना सहर र ग्रामीण क्षेत्रका कम शिक्षित र न्यून आय भएका मतदाता र मध्यम–वामपन्थीबिचको सम्बन्ध लगभग पूर्ण रूपमा विच्छेद रहेको देखायो । मेरा सामूहिक छलफल (फोकस ग्रुप) विधिको शोध प्रक्रियामा मजदुर वर्गका सहभागीले सामाजिक लोकतान्त्रिक पार्टीलाई लैंगिक एवं यौनिक अल्पसंख्यक एजेन्डा, बालबालिकाको लैंगिकीकरण, आप्रवासीप्रति खुलापन र राज्यको सार्वभौमिकता कमजोर पार्ने प्रयाससँग जोडेर हेरेका थिए । परम्परागत सञ्चार माध्यमको सट्टा यस तप्काले समाचार सामाजिक सञ्जालका विशेष समूहबाट पाउँछन् । यी मतदाता आफ्नो विद्रोही दृष्टिकोणप्रति गर्व गर्छन् र आफूलाई आफ्नो जीविकोपार्जन एवं ‘तथ्यात्मक’ सूचनाको पहुँचका लागि संघर्ष गरिरहेको ठान्छन् ।
यी निष्कर्ष पश्चिममा मध्यम–वामपन्थी पार्टीको घट्दो समर्थनको अध्ययन गर्ने ५१ अनुसन्धानको व्यवस्थित समीक्षासँग मेल खान्छन् । अमेरिकामा डेमोक्य्राटिक पार्टी, पश्चिमी युरोपका सामाजिक लोकतन्त्रवादी र उत्तर–कम्युनिस्ट देशका प्रगतिशील शक्ति सबैले मजदुर वर्गसँगको समर्थन गुमाएका छन् । यस प्रवृत्तिलाई उल्ट्याउन यी दलले मजदुरमैत्री नीति लागू गर्नुपर्छ र मतदाताको यो महŒवपूर्ण तप्कासँगको सञ्चार शैलीमा पनि परिवर्तन ल्याउनैपर्छ ।
एट्लान्टिकका दुवै छेउका (उत्तर–अमेरिका र युरोप महाद्वीप) का प्रगतिशील तप्का वर्षौंसम्म सार्वजनिक सेवा, स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधारमा बढी खर्च गरेर मजदुर परिवारका समर्थन बढाउने अभियान चलाएका छन् । यसले प्रायः अलोकप्रिय दक्षिणपन्थी सरकारविरुद्ध यी शक्तिलाई चुनाव जित्न मद्दत पनि गरेको छ । उदाहरणका लागि सन् २००८ र २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा क्रमशः डेमोक्य्राट बाराक ओबामा र जो बाइडेनले जितेका थिए र यसै वर्षको बेलायतको आम निर्वाचनमा लेबर पार्टीले कन्जर्भेटिभ (टोरी) लाई भारी मतले पराजित गरेको थियो । तर, यी पार्टी सरकारमा पुगेपछि प्रायः आफ्नो चुनावी प्रतिज्ञा पूरा गर्न असफल हुन्छन् । भविष्यका उद्योगका लागि राम्रो रोजगारी सिर्जना गर्ने कुरा गर्नु र त्यसलाई वास्तविकतामा उतार्नु एउटै होइन । मजदुर साहसी एवं प्रभावकारी नेता चाहन्छन्, जसले ठोस कदम उठाउन सकोस् ।
मध्य–वामपन्थीले आफूले ब्लु–कलर भनिने शारीरिक श्रम गर्न मजदुरसँग धनी सहरी सम्भ्रान्त वर्गसँग झैँ खुला शैलीमा संवाद गर्न नसकिरहेको तथ्य स्विकार्नुपर्छ । आप्रवासन, विश्वव्यापीकरण र हरित संक्रमणप्रतिको मजदुरका चिन्तालाई अनदेखा गर्नुका सट्टा अमेरिकामा डेमोक्य्राट र युरोपका सामाजिक लोकतन्त्रवादी पार्टीले जनसंख्याको यो तप्काले प्रयोग गर्ने माध्यम र मञ्चमा उल्लिखित चिन्तालाई सम्बोधन गर्नुपर्छ । यस सन्दर्भमा यी पार्टीले टिकटक र एक्स (पहिले ट्विटर) मा प्रभुत्व जमाएको दक्षिणपन्थीबाट केही सिक्न सक्छन् । लोकप्रियातावादलाई सकारात्मक र लोकतान्त्रिक रूपमा प्रस्तुत गर्ने भिडियो बनाउनु अब रुचि होइन, आवश्यकता हो ।
सार्वभौम मतदान अधिकार, सामाजिक कार्यक्रम निर्माण र आर्थिक समृद्धि विस्तार गर्दै राजनीतिक स्थिरता सुनिश्चित गर्ने अन्य नीतिको माग गरेर पछिल्ला दुई शताब्दीमा मजदुर वर्गले उदार लोकतन्त्र निर्माणमा महŒवपूर्ण भूमिका खेलेका छन् । अहिलेको जस्तो कोलाहलपूर्ण समयमा मध्यम–वामपन्थी पार्टीले ब्लु–कलर मजदुरले पार्टीमा अपनत्व महसुस गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ । अर्थात्, मजदुरको चासोलाई गम्भीरतापूर्वक लिइनुपर्छ र ती जहाँ छन्, त्यहीँ पुगेर संवाद सुरु गर्नुपर्छ । र, यसो गर्न नसकेको खण्डमा दक्षिणपन्थी शक्तिले मजदुर वर्गको आक्रोशलाई आफ्नो लोकतन्त्रविरोधी एजेन्डा अघि बढाउन प्रयोग गर्न जारी राख्नेछन् ।
(रिडलिन्स्की पोल्यान्ड वार्साका कार्डिनल स्टेफन विस्जिन्स्की विश्वविद्यालयमा राजनीतिशास्त्रका उप–प्राध्यापक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट