नेपाल प्रिमियर लिग (एनपिएल) मा विश्वक्रिकेटका चर्चित खेलाडी शिखर धवन र जिमी निसम सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा एकआपसमा भिड्दै छन् । न्युजिल्यान्डका ३४ वर्षीय अलराउन्डरले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्दै छन् । भारतका ३८ वर्षीय धवनले कर्णाली याक्सबाट खेल्नेछन् ।
तीनै फर्म्याटका बादशाह मानिने दुवै खेलाडी पहिलोपटक त्रिवि मैदानमा उत्रन लागेका हुन् । विश्वक्रिकेटमा जादुु देखाएका दुवै खेलाडीको पहिलो खेल हेर्न नेपाली समर्थक पनि उत्साहित छन् । धवनले नेपालमा चौथो दिन बिताउँदै छन् । निसम आइतबार मात्रै आएका हुन् । दुवै खेलाडीले नयाँ पिचमा खेल्न उत्साहित भएको बताएका छन् । दुवैको प्रतिक्रिया छ, ‘नेपालमा पहिलोपटक खेल्दै छु । नयाँ वातावरणमा खेल्न गाह्रो हुन्छ । तर, यसलाई चुनौतीको रूपमा लिनुपर्छ ।’
बायाँहाते ओपनिङ ब्याटर धवनले हैदराबादलाई इन्डियन प्रिमियर लिग र भारतलाई एसिया कपको उपाधि जिताएका छन् । उनले भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० आई खेलेका छन् । निसम सन् २०१९ को एकविदसीय विश्वकप र सन् २०२१ को टी–२० विश्वकपमा न्युजिल्यान्ड उपविजेता हुँदाका खेलाडी हुन् । उनले न्युजिल्यान्डका लागि १२ टेस्ट, ७६ एकदिवसीय र ७९ टेस्ट खेलेका छन् ।
चर्चित खेलाडीको प्रतिस्पर्धा
सन्न्यासलगत्तै नेपालमा फ्रेन्चाइज लिग खेल्न आएका धवन पहिलो भारतीय खेलाडी हुन् । यसअघि कुनै पनि भारतीय खेलाडीले नेपालमा खेलेका थिएनन् । धवनलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले प्रत्येक खेलको ३० हजार अमेरिकी डलर तिर्ने गरी भिœयाएको हो । उनले कम्तीमा चार र अवस्था हेरेर ६ खेलसम्म खेल्ने कर्णाली याक्सले जनाएको छ । ज्ञानेन्द्र मल्लको कप्तानी रहेको कर्णाली याक्सको मार्कीमा सोमपाल कामी छन् । टोलीमा वेस्ट इन्डिजका चाडविक वाल्टनसहित हङकङका बाबर हायात र ओमानका जिसन मक्सुद छन् ।
यता, जनकपुरमा निसमसहित लाहिरू मिलन्था, हर्ष थाकर, मोहम्मद मोहसिन छन् । शनिबार मात्रै लाहिरू र हर्षले शतकीय साझेदारी गरेपछि जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो । अनिलकुमार शाहको कप्तानीमा रहेको जनकपुर लगातार दोस्रो जित निकाल्ने दाउमा छ । यता, कर्णाली भने प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।
काठमाडौं र चितवनको दाउ पहिलो जित
प्रतियोगिताको दोस्रो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दै छन् । प्रतियोगितामा दुवै टोलीका लागि पहिलो खेल हो । दुवै टोली त्रिवि मैदानमा २ अंक लिने दाउमा छन् । काठमाडौंको मार्कीमा करण केसी तथा चितवनका कुशल मल्ल हुन् । यो खेलमा पनि विदेशी खेलाडी नै हाबी हुने अनुमान गरिएको छ । दुवै टोलीमा नेपाली खेलाडी औसत छन् । वसन्त शाही प्रशिक्षक रहेको काठमाडौंमा करणसहित भीम सार्की, दीपेश कँडेल, रसिद खान, साहब आलम र सुमित महर्जनजस्ता खेलाडी छन् । विदेशी खेलाडीमा एसोसिएटतर्फका महारथी नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका गेरार्थ इरास्मस छन् ।
त्यस्तै, इंग्ल्यान्डका नाथन सोवटर र स्टेफन इस्किनान्जी छन् । यता, कुशल मार्की रहेको चितवनमा भारतीय उमेश पटवाल प्रशिक्षक छन् । टोलीमा अनुभवी खेलाडी शरद भेसवाकरसहित दीपक बोहरा, रिजन धकाल, विपिन रावल, अमर राउटेला छन् । विदेशी खेलाडीमा इंग्ल्यान्डका अनुभवी खेलाडी रवि बोपरा र पाकिस्तानमा सोहेल तनभिर छन् । दुवै टोलीकै चर्चित अनुहार हुन् । त्यस्तै, नामिबियाका जान निकोल इटन, इंग्ल्यान्डका लुक बेन्केनस्टेइन छन् ।