भोलिदेखि आइटिएफ जे–३० टेनिस प्रतियोगिता : १० देशका १०५ खेलाडी भिड्दै

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

आइटिएफ वर्ल्ड टेनिस टुर जे–३० अन्तर्गत १० देशका १०५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। सोमबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने टुरअन्तर्गत सर्किट १ र २ को खेलमा उनीहरूबिच प्रतिस्पर्धा हुन लागेको हो। 

पोखरालाई खेल पर्यटनको माध्यमबाट विश्वसामु परिचित गराउँदै लैजाने अवधारणाअनुरूप कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगिता २९ मंसिरसम्म चल्ने आयोजकले जनाएको छ। 

प्रतियोगितामा महिला पुरुष सिंगल्स तथा डबल्स गरी चार विधामा १३ देखि १८ वर्षका खेलाडीले मेन ड्रमा छिर्न पाउने र बाँकीले क्वालिफाईबाट छानिसकेपछि सर्किट १ र २ मा प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रचारप्रसार संयोजक प्रीति बरालले जानकारी दिइन्। सर्किट १ का खेल सम्पन्न भएपछि २ का खेल सुरु हुनेछन्। 

उनका अनुसार मेन ड्रको खेल ३२ जनाबिच हुनेछ। विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले नौ, क्वार्टरफाइलिस्टले पाँच र आर १६ ले दुई अंक प्राप्त गर्नेछ। यस्तै, डबल्समा विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिस्टले ६, क्वार्टरफाइनलिस्टले तीन अंक प्राप्त गर्नेछन्। 

प्रतियोगितामा नेपालसँगै जापान, भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका गरी ७० पुरुष र ३५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक राजकुमार गुरुङले जानकारी दिए। प्रतियोगिताका लागि खेलाडीसँगै उनीहरूका अभिभावक र प्रशिक्षक गरेर दुई सय ५० जना विदेशबाट आएका छन्। 

प्रतियोगिताका निर्देशक अजय विष्टका अनुसार प्रतियोगितामा पुरुषतर्फ विश्व वरीयतामा नम्बर १ जापानी खेलाडी रिकु हिगासी र चौथो वरीयतामा रहेका आरभसम्राट हाडा र महिलातर्फ नम्बर १ भारतीय खेलाडी माहिका खन्ना र छैटाैँ नम्बरमा रहेकी नेपाली खेलाडी सुनिरा थापाले समेत प्रतिस्पर्धा गर्दै छन्। विष्टका अनुसार प्रतियोगिताका लागि चारजना भारतीय अम्पाएर पोखरा आएका छन्।
 

सुझावित समाचार