आगामी १२ पुसदेखि लमजुङमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने भएको छ। त्रिवेणी युवा क्लबले शनिबार बेँसीसहरमा पत्रकार सम्मेलन गरी ३२औँ त्रिवेणी कपबारे जानकारी दिएको हो।
प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुने समूहलाई रजत पदकसहित नगद ६ लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद दुई-दुई लाख प्रदान गरिने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए।
गत वर्ष विजेता टिमलाई आठ लाख रुपैयाँ प्रदान गरिएको थियो। प्रतियोगितामा अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र साथै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५–२५ हजार रुपैयाँ, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ९४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।