ट्रम्पको धनाढ्य र मजदुरलाई जोड्ने गठबन्धनको एक हिस्साले विश्वव्यापीकरणको समर्थन गर्छ भने अर्कोले यसलाई अस्वीकार गर्छ
सन् १९८७ मा इतिहासकार पौल केनेडीको ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ पुस्तकले साम्राज्यवादी विस्तारका विषयमा चर्चा गर्दै सोभियत संघ र अमेरिकाको विश्लेषण गरेको थियो । उनको पुस्तक प्रकाशनको केही समयमै सोभियत संघ विघटन भई अमेरिका एक मात्र प्रमुख शक्ति बन्यो । तर, पछिल्ला घटनाक्रमले केनेडीको विचारमाथि पुनः विचार गर्ने समय आएको संकेत गर्छ । जुलाई २०२० मा महामारीका दौरान र डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर मैले ‘लेट सोभियत अमेरिका’ शीर्षकमा लेख लेख्दै अमेरिका राजनीतिक रूपमा अव्यवस्थित रहेकोप्रति चिन्ता व्यक्त गरेको थिएँ । प्रचुर प्रतिभा हुँदाहुँदै पनि दुई मुख्य पार्टीले उम्मेदवारलाई गैरलोकतान्त्रिक रूपमा चयन गरेका थिए र राजनीतिक रणनीतिमा प्रभाव पार्न प्रत्यक्ष भुक्तानी (स्टिमुलस चेक्स) मा निर्भर रहेका थिए ।
ट्रम्पबाट राष्ट्रपति पद बाइडेनतर्फ गए पनि खासै फरक परेन । अमेरिकामा सोभियत शैलीको एकल पार्टी राज्य नभए पनि अन्तर–पार्टी लोकतन्त्रको अभाव देखिन्थ्यो । मतदाताले निराशा महसुस गरेका थिए र अत्यधिक खर्चनीति चुनावी एवं सामाजिक रणनीतिको मुख्य अंश बनेको देखिन्थ्यो, जसले अमेरिकालाई सोभियत–समयको रुसकै अवस्थामा पुर्याएको थियो । सोभियत संघको पतन दुई चरणमा भएको थियो । अर्थात्, वृद्ध नेतृत्व र त्यसपछि गलत अवधारणामा आधारित सुधारका प्रयास पतनका कारक थिए । सन् १९८४ मा कन्स्टान्टिन चेरनेन्को ७२ वर्षको उमेरमा कम्युनिस्ट पार्टीका महासचिव बनेका थिए । वृद्ध चेरनेन्कोले पूर्ववर्ती युरी आन्द्रोपोवको शोकसभामा भाषण गर्नसमेत कठिनाइ महसुस गरेका थिए । मिखाइल गोर्बाचेवले पेरिस्ट्रोइका र ग्लासनोस्तका माध्यमबाट सोभियत संघलाई पुनर्जीवित बनाउन प्रयास गरे पनि यी सुधारले सीमान्तीकरण व्यहोरेका जाति÷राष्ट्र जागृत भएपछि सोभियत संघ विघटित भयो ।
हाल धेरै विश्लेषकले सोभियत संघ पतनको विश्लेषणलाई अमेरिकामा लागू गरिरहेका छन् र ट्रम्पलाई गोर्बाचेवसँग तुलना गरिरहेका छन्, जसका सुधारले सोभियत संघको पतन गराएको थियो । ट्रम्प गोर्बाचेवभन्दा जेठा छन् र उनी पनि त्यस्ता एक भित्रिया हुन्, जसले आफूलाई बाहिरी र प्रणालीलाई भत्काउने व्यक्तिका रूपमा प्रस्तुत गर्छन् । चुनावमा आफ्नो रूपान्तरणकारी परियोजनालाई लुकाएका ट्रम्प अहिले आफ्ना उद्देश्य स्पष्ट गर्दै छन् । उनको ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ (मागा) अभियानले मजदुर वर्गका अमेरिकी (जसमा बढी एसियाली, हिस्प्यानिक र अश्वेत मतदाता पनि पर्छन्) र अत्यन्त प्रभावशाली एवं धनाढ्य प्रविधि उद्यमीलाई जोड्न सफल भएको छ ।
यद्यपि मजदुर र धनाढ्यबिचको गठबन्धनमा तनावका संकेत देखिन थालिसकेका छन् र ट्रम्पका प्रस्तावित उपायले अवश्यम्भावी रूपमा मुद्रास्फीति निम्त्याउनेछ र यस्तै समस्या बाइडनले पनि व्यहोरेका थिए । नयाँ र उच्च करले जीविका लागत बढाउनेछ र एक करोड १० लाख दस्ताबेजविहीन आप्रवासीलाई देशनिकाला गर्ने प्रयासले कृषि, निर्माण र महत्वपूर्ण वितरण केन्द्रमा अपत्यारिलो अवस्था र श्रमिक अभाव सिर्जना गर्नेछ । त्यसैगरी, एलोन मस्क र विवेक रामस्वामीले प्रस्ताव गरेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी (डोगे) का अनुसार कर्मचारीतन्त्रमा कटौती गर्दा धेरै अमेरिकी सडकमा पुग्नेछन् र यी विस्थापित मजदुर न्यून आय भएको कृषि काममा जान चाहने सम्भावना निकै कम छ ।
सिलिकन भ्यालीका समर्थक एआईले उत्पादनशीलता बढाउन सक्छ र कम सीप भएका मजदुरको तलब बढाउन सक्ने मान्छन् र यसलाई कल सेन्टर, स्वास्थ्य सेवाजस्ता क्षेत्रले पुष्टि गरेको छ । तर, यो ‘छलाङ मार्ने’ दर्शन र यसको व्यावहारिक प्रयोगबारे ठुलो मात्रामा परीक्षण गरिएको छैन । सिलिकन भ्यालीको मोडेल एक विश्वव्यापी सम्बन्धमा आधारित छ, जहाँ अमेरिका प्रमुख शक्ति हो । उसो त मस्क ट्रम्पको पूर्ण रूपान्तरणकारी दृष्टिकोणलाई समर्थन गर्छन्, तर उनको योजनाले परिपूरकका रूपमा प्रविधि र ‘विश्वव्यापीकरण’लाई जोड्छ । उनले अमेरिका दिवालियापनतर्फ जान लागेको भन्दै परिवर्तनको माग गरेका छन्, तर अर्जेन्टिनाको कर हटाउने नीतिलाई सराहना गरिरहेका छन् । अर्थात्, उनी ट्रम्पको कर वृद्धिप्रतिको आसक्तिबारे जानकार छन् र यो अवस्थामा निकास के हुने भन्ने अनिश्चित छ ।
आशावादी कोणबाट हेर्ने हो भने अमेरिकी असहयोग मात्रै ठुलो मन्दी निम्त्याउने स्तरको विश्वव्यापी व्यापार संकटको कारण बन्न सक्दैन, किनभने अमेरिका मात्र १३.५ प्रतिशत विश्वको आयातको जिम्मेवार छ । निश्चय पनि अन्य मुलुकले प्रतिकार गर्न सक्छन् वा ट्रम्पको अनुकरण गर्न सक्छन् । तर, ट्रम्पको छवि हेर्दा उनको अनुकरण गर्ने भेटिन गाहै्र छ । उदाहरणका लागि ब्रेग्जिटले अन्य युरोपियन युनियन विरोधीमाझ के–कस्तो प्रतिरोधी प्रभाव पारेको थियो, त्यसैलाई हेर्दा हुन्छ वा अधिकांश सोभियत मूलका राष्ट्र नयाँ मानसिकता अपनाउन कति इच्छुक थिए भन्ने हेर्दा पनि हुन्छ । ट्रम्पको गठबन्धनको एक हिस्साले विश्वव्यापीकरणको समर्थन गर्छ भने अर्कोले अस्वीकार गर्छ । विडम्बना के छ भने मुलुकभित्रै खुम्चिने संरक्षणवादी प्रयासबाट सबैभन्दा बढी पीडा मजदुर वर्गले नै अनुभव गर्नेछन् । ट्रम्पको नीति एजेन्डा यदि कार्यान्वयनमा आयो भने यसले अवश्यम्भावी रूपमा असन्तोष, विरोध र षड्यन्त्रका सिद्धान्तको नयाँ लहर उत्पन्न गर्नेछ ।
सोभियत संघको अन्त्यपछि यही अवस्था निम्तिएको थियो । तीव्र एवं अचानक हुने परिवर्तनले धेरै समस्या निम्त्यायो र प्रभावित विमुख महसुस गर्ने समूहका हिस्सा बने । अहिले अमेरिकामा पनि यस्तै अवस्था देखिन थालेको छ । र, रुस यही कुरेर बसिरहेको छ ।
(जेम्स प्रिन्सटन विश्वविद्यालयका इतिहास एवं अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट