प्रधानमन्त्री ओलीले शिलान्यास गरेको दमक बहुप्राविधिक शिक्षालय भवन अलपत्र

चार विषय स्वीकृत हुँदा पनि भवन अभावमा एउटाको मात्र पढाइ

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण
प्रधानमन्त्री ओलीले शिलान्यास गरेको दमक बहुप्राविधिक शिक्षालय भवन अलपत्र

दमक नगरपालिका– ४ स्थित अलपत्र दमक बहुप्राविधिक शिक्षालय भवन । तस्बिर : नयाँ पत्रिका

प्रधानमन्त्री केपी ओलीले २० माघ ०७९ मा शिलान्यास गरेको सरकारी शिक्षालय दमक बहुप्राविधिक शिक्षालय भवन अलपत्र परेको छ । ओलीको गृहनगर दमक नगरपालिका– ४ मा बहुप्राविधिक शिक्षालय भवन बजेट अभावमा निर्माण पूरा नभएर अलपत्र परेको हो । 

ओली प्रधानमन्त्री भएका वेला ०७६ मा उनकै सक्रियतामा स्थापना भएको दमक बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय हो । शिक्षालयको भवन निर्माणका लागि दमक– ४ अर्नाखाडीमा तीन वर्षअघि १८ कोठे तीनतले भवन निर्माण सुरु भएको थियो । ओलीले २० माघ ०७९ मा भवन निर्माणका लागि शिलान्यस गरेका थिए । सो ठाउँमा चार बिघा चार कट्ठा जग्गा शिक्षालयलाई प्राप्त भएको छ । जसमध्ये तीन बिघा १८ कट्ठा जग्गा ऐलानी हो भने ६ कट्ठा दाताले शिक्षालयलाई उपलब्ध गराएको हो । अझै चार कट्ठा जग्गा दान गर्न वचनबद्धता आए पनि शिक्षालयको नाममा आइनसकेको शिक्षालय प्रमुख ठाकुरप्रसाद भट्टराई बताउँछन् । 

तत्कालीन समयमा शिक्षालयको भवन निर्माणका लागि चार करोड ६४ लाख बजेट विनियोजन भएको थियो । निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार ११ महिनामा सक्ने गरी स्ट्रक्चरको काम सकेको छ । तर, त्यसपछि फिनिसिङको कामका लागि बजेट नआउँदा भवन अलपत्र परेको शिक्षालयका शिक्षालय प्रमुख भट्टराईले बताए । ‘आएको बजेटले स्ट्रक्चरल काम सकिएको छ । समयमै काम सकिएर निर्माण कम्पनीले जिम्मा लगायो । वाल लगाएर कोठासमेत बनेको छैन । अन्य फिनिसिङको काम बाँकी नै छ,’ उनले भने, ‘बजेट नआएकाले भवन अलपत्रजस्तै बनेको छ । बजेट माग गर्न प्रधानमन्त्रीदेखि यस प्रदेशका मुख्यमन्त्रीसम्मलाई भेटिसकेँ, तर पर्याप्त बजेट आएन ।’ 

गत आर्थिक वर्षमै संरचनाको काम सकिए पनि त्यसपछि फिनिसिङका लागि बजेट आएन । चालू आर्थिक वर्षमा सरकारले ८० लाख बजेट विनियोजन गरेको छ । तर, त्यो बजेटले काम पूरा नहुने शिक्षालय प्रमुख भट्टराई बताउँछन् । ‘यो बजेट त हात्तीको मुखमा जिराजस्तो भयो । ८० लाख आएको छ । यसले सामान्य काम होला, तर पूरा हुन सक्दैन । यो बजेटले त केही काम लाग्दैन,’ उनले भने, ‘यो फिनिसिङ गरिसक्न सात करोड बजेट चाहिन्छ । छात्रावास निर्माण, माटो परीक्षण गर्ने ल्याब, क्यान्टिलगायतको काम पनि गर्नुपर्नेछ ।’

शिक्षालयको भव्य भवन निर्माणको प्रारम्भिक चरणमा बजेट अभावले अलपत्र छ । अहिले शिक्षालय भने दमक– २ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्र रहेको जीर्ण भवनमा सञ्चालन भइरहेको छ । ०७६ मा स्थापना भएपछि दमक नगरपालिकाले उपलब्ध गराएको उक्त जीर्ण संरचनामा शिक्षालय चलिरहेको शिक्षालय प्रमुख भट्टराई बताउँछन् । ‘हामी दमक– २ को हम्सेदुम्से वन क्षेत्रमा रहेको नगरपालिकाले उपलब्ध गराएको जीर्ण भवनमा छौँ । यहाँ पाँच वर्षदेखि बिजोगले कक्षा सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘भुटानी शरणार्थीका लागि बसेको आइओएमले बनाएर छाडेको अस्थायी भवन रहेछ । हामी त्यहीँ मर्मतसम्भार गरेर बसिरहेका छौँ । त्यो पनि वेलावेला भत्किरहन्छ ।’

यो शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले चारवटा विषय पठनपाठनका लागि स्वीकृति दिएको छ । तीनवर्षे डिप्लोमा तहका मेकानिकल, अटोमोबाइल, रेफ्रिजेरेटर एन्ड इयर कन्डिसन र सिभिल इन्जिनियरका विषय पढाउन सिटिइभिटीले स्वीकृति दिएको छ । तर, संरचना अभावका कारण अहिले सिभिल इन्जिनियरिङका मात्र कक्षा भइरहेको शिक्षालय प्रमुख भट्टराईले बताए । ‘एउटा विषयबाहेक अरू पढाउन सकिएको छैन । यसको प्रमुख कारण भवन अभाव नै हो,’ उनले भने । भवन अभावका कारण माटो परीक्षणका लागि ल्याब सञ्चालन गर्नसमेत नसकिएको उनले बताए । ‘सिभिल इन्जिनियरिङ पढाइ हुने ठाउँमा माटो परीक्षणको ल्याब अनिवार्य हो । तर, हामीले सञ्चालन गर्न सकेका छैनौँ,’ उनले भने, ‘अहिले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल बहुप्राविधिक शिक्षालयमा लगेर गरिरहेका छौँ ।’

पढाइ भइरहेको डिप्लोमा तहको सिभिल इन्जिनियरिङमा पनि विद्यार्थीको आकर्षण छैन । सरकारको छात्रवृत्तिमा पढ्न आउने विद्यार्थीसहित प्रत्येक वर्ष ४८ जनाको कोटा हुन्छ । तर, कुनै ब्याचमा पनि कोटाजति विद्यार्थी नआएको शिक्षालय प्रमुख भट्टराई बताउँछन् । उनका अनुसार तेस्रो वर्षमा २५ जना, दोस्रो वर्षमा ३५ जना विद्यार्थी छन् भने पहिलो वर्षमा २८ जनाले रजिस्ट्रेसन गरेका छन् । पहिलो वर्षमा अझै केही समय विद्यार्थी आउन सक्ने उनको अनुमान छ । ‘पूर्वाधार राम्रो नभएर पनि विद्यार्थीको आकर्षण नभएको हो । अरू ठुलठुला संरचना भएका क्याम्पसमा विद्यार्थी जान्छन्,’ उनी भन्छन्, ‘अर्को कारण विद्यार्थीका लागि यो शिक्षालय भएको अहिलेको ठाउँ विद्यार्थीलाई अपायक छ । भनेको वेला सवारीसाधन पनि पाइँदैन । तसर्थ, विद्यार्थीको संख्या बढ्न सकेन ।’

सुझावित समाचार