ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घन्टी लिलाम बिक्री गरिने भएको छ। पाथीभरा क्षेत्र विकास समितिले भक्तजनहरूले चढाएका करिब साढे १६ हजार किलोग्रामभन्दा बढी पुराना घन्टी लिलाम बिक्री गर्ने भएको हो।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले १६ हजार ३६८ किलोग्राम घन्टी बिक्री गर्न लागेको बताए। एक क्विन्टलसम्म वजन भएका पुराना घन्टी लिलाम बिक्री गरिने उनको भनाइ छ।
लिलाम बिक्रीमा राखिएका घन्टीको न्यूनतम मूल्य प्रतिकिलोग्राम ३८० रुपैयाँ कायम गरेको समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए। घन्टी लिन चाहनेले पुस १३ गतेभित्र पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा सिलबन्दी बोलपत्र दर्ता गरिसक्नुपर्ने अध्यक्ष थेबेले बताए।