हिउँचितुवाको अध्ययन–अनुसन्धानका लागि नेपाल र चिनियाँ वैज्ञानिकहरू काठमाडौंमा भेला भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा सुरु भएको उक्त कार्यशालामा नेपाल र चीनका गरी चार दर्जनभन्दा बढी अनुसन्धानकर्ता सहभागी छन् ।
कोषका सदस्यसचिव नरेश सुवेदीले हिउँचितुवाको अध्ययन र अनुसन्धानका लागि नेपाल र चीनका अनुसन्धानकर्ताबिचको संयुक्त पहललाई निरन्तरता दिइएको बताए ।
चीनको पेकिङ विश्वविद्यालय, सान सु कन्जर्भेसन सेन्टर, टेनसेन्ट फाउन्डेसनलगायतको प्राविधिक सहयोगमा सुरु भएको उक्त कार्यक्रममा अध्ययन–अनुसन्धानमा नवीनतम प्रविधिको उच्चतम प्रयोगबारे छलफल हुने कोषका निर्देशक डा. चिरञ्जीवी पोखरेलले बताए ।
बिरालो प्रजातिको मांसाहारी जीव हिउँचितुवा नेपाल र चीनसहित विश्वका १२ वटा मुलुकमा पाइन्छन् । विश्वमा पाइने हिउँचितुवामध्ये नेपालमा १० प्रतिशत पाउने अनुमान छ । नेपालको करिब ३० हजार वर्गकिलोमिटर क्षेत्र हिउँचितुवाको वासस्थान अनुमान गरिएको छ । अनुमान गरिएकोमा ५८ प्रतिशत संरक्षित क्षेत्रभित्र पर्छ ।
उक्त कार्यक्रममा बोल्दै निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले नेपालले हिउँचितुवा संरक्षणका लागि धेरै अघिदेखि काम गर्दै आएको उल्लेख गर्दै अन्तरदेशीय सहकार्यले अनुसन्धानमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा इसिमोडका डाइरेक्टर डा. पेमा ग्याम्त्सोले आर्टिक क्षेत्रमा पाइने पोलार बियरजस्तै हिन्दु–कुश हिमालय क्षेत्रको पहिचान नै हिउँचितुवा रहेको बताए ।
सरकारले हिउँचितुवालगायत अन्य जीवहरू संरक्षणका लागि स्थानीय साझेदारी अपरिहार्य हुने निष्कर्ष निकाल्दै समुदायसँग मिलेर संरक्षणका काम गर्दै आएको छ । नेपालले हालै हिउँचितुवा संरक्षण कार्ययोजना २०२४/२०३० जारी गरेको छ । कार्ययोजनामा प्रजातिको संरक्षणका लागि गरिनुपर्ने कार्य, भावी रणनीति, कार्यनीति, क्षमता अभिवृद्धि, वासस्थान सुधारलगायतका विषय समावेश छन् ।
हिउँचितुवा संरक्षणमा नेपाल र चीनबिचको सहकार्य अपरिहार्य : मन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँचितुवाको संरक्षणका लागि अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताएका छन् । दुर्लभ वन्यजन्तु हिउँचितुवा संरक्षणका लागि काठमाडौंमा बिहीबारदेखि सुरु भएको तीनदिने कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले प्रजाति संरक्षणमा अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताएका हुन् ।
मन्त्री शाहीले तराईमा बाघ र हिमालमा हिउँचितुवा नेपालको पहिचान झल्काउने सूचक रहेकाे बताउँदै हिउँचितुवालाई हिमाली भेगको सांस्कृतिक, पर्यावरणीय र जैविक सम्पत्तिको रूपमा लिनुपर्ने बताए । उनले हिउँचितुवा नेपालको हिमाली क्षेत्रको पारस्थितिकीय प्रणालीलाई स्वच्छ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यिनकाे संरक्षण महत्त्वपूर्ण रहेको बताए ।
नेपालमा हिउँचितुवाको बसोबास क्षेत्र, उसको बानी–व्यवहार र संरक्षण रणनीतिबारे अझ गहन रूपमा अनुसन्धान गर्दै लगानी गर्नुपर्ने अवस्था रहेको मन्त्री शाहीको भनाइ थियो । हिउँचितुवा संरक्षण सफल बनाउन र द्वन्द्व कम गराउन संरक्षमा स्थानीय समुदायहरूको सहभागिता सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए ।