अमेरिकाका निवर्तमान राष्ट्रपति जो बाइडेनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदान–प्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा राखेको भनी वर्गीकृत गरेका तीनजना अमेरिकी कैदी मार्क स्विडन, काई ली र जोन लेउङ चीनका अन्तिम कैदी थिए ।
यद्यपि, अधिकारकर्मी र चीनमा हिरासतमा रहेका अन्य कैदीका परिवारहरूले थप अमेरिकी नागरिकहरूको मुद्दा उठाएका छन् । ‘चाँडै नै उनीहरू पनि घर फर्कनेछन् र तिनका परिवारसँग पुनर्मिलन हुनेछन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पारिवारिक पुनर्मिलनसँग जोडिएको अमेरिकी धन्यवाद दिवसको पूर्वसन्ध्यामा भने । ‘यो प्रशासनको प्रयास र चीनसँगको कूटनीतिका कारण पिआरसीमा गलत तरिकाले हिरासतमा लिएका सबै अमेरिकीहरू स्वदेश फर्किएका छन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बताए ।
यस मामिलासँग सम्बन्धित एक स्रोतका अनुसार अमेरिकी हिरासतमा रहेका तीनजना चिनियाँ नागरिकका लागि बेइजिङसँग कैदी आदान–प्रदान गरेर तीनैजनालाई रिहा गर्न लागिएको हो । सन् २०१२ को अन्त्यतिर स्विडनलाई लागुऔषधको आरोपमा चीनको व्यापारिक भ्रमणका क्रममा पक्राउ गरिएको थियो । उनको परिवार र समर्थकहरूले उनी ड्राइभर र अनुवादक सहयोगीका कारण गलत तरिकाले दोषी देखिएको बताएका छन् ।
चीनमा कैदीहरूलाई सहयोग गर्ने समूह ‘डुई हुवा’का अनुसार हिरासतमा रहेको प्रारम्भिक समयमा, स्विडेनले निद्रा र खानाबाट वञ्चित भएको र १०० पाउन्ड (४५ किलोग्राम)भन्दा बढी तौल गुमाएका थिए । सन २००६ देखि जेलमा रहेका पास्टर डेभिड लिनलाई सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाले रिहा गरेको थियो । अमेरिकी अधिकारीले लिनको रिहाइका लागि एक चिनियाँ कैदी आदान–प्रदान गरेको स्वीकार गरेका थिए । बाइडेन प्रशासनले आफ्नो कार्यकालको बाँकी समयमा कैदीहरूको रिहाइ सुनिश्चित गर्ने प्रयास गरिरहेको छ । बाइडेनले यसै महिना पेरुमा एपेक शिखर सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङसँग अन्तिम भेटमा यो विषय पनि उठाएका थिए ।