खाँदबारी नगरपालिका–४ पांमास्थित भगिवन्त रंगशालामा २७ मंसिरदेखि आठौँ पांमा कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।
बिहीबार खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरी आयोजक लोहोरुङ क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो। ‘स्वास्थ्यको लागि खेलकुद : राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किराँतहरूको मौलिक पर्व साकेला उधौली तथा धान्यपूर्णिमाको अवसरमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो।
खेलकुदको विकाससँगै किराँत समुदायको संस्कृतिको उत्थान एवं प्रवर्द्धन गर्ने उद्देश्यले निरन्तर रूपमा फुटबल प्रतियोगिताको आयोजना गरिएको लोहोरुङ क्लबका अध्यक्ष प्रभुराम राईले बताए
उक्त प्रतियोगितामा कोशी प्रदेशभित्र नाम चलेका १० वटा क्लबले सहभागिता जनाउने भएका छन्। २७ मंसिरदेखि हुने प्रतियोगिता १ पुसमा समापन हुनेछ। प्रतियोगितामा कुल १२ लाख ३७ हजार खर्च हुने अनुमान गरिएको छ।