ऐतिहासिक गाजाको दह : पानी सुक्न थालेपछि स्थानीयवासी चिन्तित

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

यहाँस्थित ऐतिहासिक गाजाको दहनजिकै व्यापार गर्दै आएका नरबहादुर थापाका अनुसार दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देखिन्थ्यो। पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ ।

वर्षातमा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर, अहिले त वर्षातमा पनि यो ताल सुक्खाजस्तै भयो । भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय चिन्तामा छन् । दुई हजार पाँच सय मिटर उचाइको गाजाकाे दह पानी सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताए ।

सयौँ वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, बर्खामा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ ।

पाँच वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो । यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन् । बागलुङ सदरमुकामदेखि २४ किलाेमिटर पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्य हो । यहाँ सिद्ध बराहको थान छ । यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकावासी पूजा गर्न पुग्छन् । त्यसबाहेक अन्यत्रबाट पनि घुम्न जानेहरू धेरै छन् ।

यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमालसमेत देखिन्छ । उच्च पहाडमा भएकाले हिउँदमा हिउँ पर्छ । जंगल छेवैमा भएर पनि यो ताल सधैँ सफा हुन्छ । यसैले यहाँ पर्यटक जाने–आउने गर्छन् । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङ्जाका धेरै क्षेत्र देखिन्छन् । त्यसैले यहाँ पैदलयात्रा गरेर पनि पर्यटकहरू पुग्ने गर्छन् । यो दह धार्मिक रूपमा पनि प्रसिद्ध छ, तर संरक्षणको नाममा डोजर लगाएर पानी घटेका थापा बताउँछन् ।उनले अब मौलिक रूपमै संरक्षण नगरे दहको अस्तित्व सकिने बताए । सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उकाेले माग छ ।

गाजाकाे दह छेवैमा रहेको सिद्धथानमा वैकुष्ठ चतुर्दशी तथा बाला चतुर्दशीमा मेला लाग्ने गरेको छ । बाला चतुर्दशीमा त सतबिज झर्नेको भिडसमेत हुन्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकाले पर्यटन क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।

गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचीकृत गरेको छ । तर, पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन् । सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञसमेत लगाएका छन् । शनिबारदेखि सुरु भएको महायज्ञ सात दिन चल्ने जैमिनी नगरपालिका– ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताए । यो महायज्ञ धार्मिक मात्र नभई सांस्कृतिक र दह संरक्षणको अभियान भएको उनको भनाइ छ ।

सुझावित समाचार