अझै बनेनन् कांग्रेसका सात भ्रातृ संस्थाको निर्देशक समिति

तोकिएको समयमा महाधिवेशन गराउन पार्टीले समन्वय नगर्दा भ्रातृ संस्थाहरू अलमलमै

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

लामो समयसम्म अधिवेशन हुन नसकेर तदर्थका भरमा चलिरेहका कांग्रेसका भ्रातृ संस्थाको अधिवेशन अझै लम्बिने देखिएको छ । आगामी चैतभित्र महाधिवेशन गर्न निर्देशक समिति बनाउने पार्टी आफ्नै निर्णयलाई बेवास्ता गर्दा भ्रातृ संस्थाका अधिवेशन तयारी अलपत्र परेको हो ।

गत १९ असारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले ०८१ चैतभित्र भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्ने कार्यादेशसमेत तय गरेर दश भ्रातृ संस्थाका निर्देशक समिति बनाउने निर्णय गरेको थियो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्णयको पाँचमहिने अवधिमा १६ असोजमा महिला संघ, तरुण दल र नेविसंघका निर्देशक समिति बनेका छन् । जसअनुसार महिला संघको निर्देशन समिति संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी, तरुण दल निर्देशन समिति संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र नेविसंघको निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौरले जिम्मेवारी पाएका छन् । त्यसयता कुनै पनि संस्थाका निर्देशक समिति बनेका छैनन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बाँकी निर्देशक समिति पनि छिट्टै बन्ने बताउँछन् । चैतभित्र भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न हुने उनले दाबी गरे । ‘पार्टीमा सहमति गर्दै बाँकी निर्देशक समिति बनाउँदै छौँ । यसबिचको राजनीतिक घटनाक्रमलगायतका कारण केही समय लागेको हो,’ उनले भने, ‘चैतभित्रै भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न हुन्छन् ।’ बनेका निर्देशक समितिले भने भ्रातृ संस्थासँग छलफल र तयारीका लागि समन्वय गरिरहेका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा समिति बनेपछि पार्टीसँगको समन्वय सहज भएको बताउँछन् । समितिसँगको छलफलसँगै महाधिवेशन केन्द्रित भएको उनले बताए । ‘निर्देशक समितिसँग छलफल गरेर हाम्रो तयारीबारे जानकारी गरायौँ । समितिले हामीलाई तत्काल विधान र कार्यतालिका तयार गरेर बुझाउन भनेको छ । अहिले त्यसकै गृहकार्यमा छौँ,’ उनले भने, ‘सुझाव लिएर एक महिनाभित्र विधान बनाउन लागेका छौँ । साथै, सदस्यता वितरणको काम पनि थाल्दै छौँ । सम्पूर्ण रूपमा चैतभित्र महाधिवेशन हुने दिशामा अघि बढेका छौँ ।’

महाधिवेशनका लागि पार्टीले समन्वय नगर्दा भ्रातृ संस्थाहरू अलमलमै छन् । लामो समयसम्म महाधिवेशन नहुँदा नेतृत्वले अनुकूलको तदर्थ समिति बनाउने र पटक–पटक म्याद थप गर्ने प्रवृत्ति देखिँदै आएको छ । महाधिवेशन हुन नसकेर नेतृत्व हस्तान्तरण हुन नपाएका र तदर्थ समिति बनाएर पटक–पटक म्याद थप मात्र भएका भ्रातृ संस्था प्रभावहीन बन्दै गएका छन् । पटक–पटक म्याद मात्र थप हुँदा कांग्रेस नेतृत्वको आलोचना हँुदै आएको छ ।

सुझावित समाचार