कर्णाली याक्सबाट खेल्न वाल्टन नेपाल आइपुगे

बुधबार, १२ मंसिर, २०८१
डिजिटल संस्करण

कर्णाली याक्समा अनुबन्ध भएका वेस्टइन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन नेपाल आइपुगेका छन् । मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।

सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी-२० आई खेल खेलेका छन् । जसमा २२५ रन बनाएका छन् । त्यस्तै, दुई टेस्ट र नाै एकदिवसीय खेल खेलेका छन् ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठुलो नाम हुन् । 

त्यस्तै, टोलीमा वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायत र ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ । 

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित ऋत गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्।  प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।

See More On

सुझावित समाचार