पाँच सय क्याम्पसमा विद्यार्थीको अभाव

कक्षा १२ को पढाइपछि बिदेसिने विद्यार्थीको संख्या बढ्दै जाँदा नेपालका क्याम्पसमा थोरै विद्यार्थी

बुधबार, १२ मंसिर, २०८१
डिजिटल संस्करण

एक अध्ययनमा देशका पाँच सयभन्दा धेरै क्याम्पसमा विद्यार्थीको अभाव देखिएको छ । विश्वविद्यालय अनुदान आयोगले एक साताअघि तयार पारेको प्रतिवेदनअनुसार एक सयभन्दा थोरै विद्यार्थी रहेका देशभर सबै विश्वविद्यालयमातहतका पाँच सय पाँचवटा क्याम्पस छन् । देशभर कुल २१ विश्वविद्यालय छन् । तीमध्ये १४ विश्वविद्यालयमातहत चलेका सामुदायिक र आंगिक क्याम्पसमा पछिल्लो समय विद्यार्थीको संख्या असाध्यै न्यून हुँदै गएको छ । खास गरेर कक्षा १२ को पढाइपछि बिदेसिने विद्यार्थीको संख्या बढ्दै जाँदा त्यसको असर नेपालका क्याम्पसहरूमा देखिएको हो । आयोगले यी क्याम्पस गाभ्न वा बन्द गर्न विश्वविद्यालयहरूलाई सुझाव दिएको छ ।

कम विद्यार्थी भएका क्याम्पस मर्जर वा बन्द प्रक्रियामा जान सक्छन् : शंकरप्रसाद भण्डारी सदस्यसचिव, विश्वविद्यालय अनुदान आयोग
हामी विश्वविद्यालय र क्याम्पसको अवस्थाबारे हरेक वर्ष अध्ययन गर्छौँ । अध्ययनमा पाँच सय पाँच क्याम्पसमा सयभन्दा कम विद्यार्थी देखिएका छन् । यस वर्षको अध्ययन प्रतिवेदन विश्वविद्यालयहरूलाई दिइसकिएको छ । सोका आधारमा विश्वविद्यालयले बन्द तथा मर्जर प्रक्रिया पनि अपनाउन सक्छन् ।

अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीका अनुसार आयोगले हरेक वर्ष विद्यार्थी र क्याम्पस संख्याबारे अध्ययन गर्छ । यसमा सबै विश्वविद्यालय समेटिन्छन् । यस वर्षको अध्ययनबाट पाँच सय पाँच क्याम्पसमा सयभन्दा कम विद्यार्थी रहेको तथ्यांक पाइएको उनले बताए । ‘हामी विश्वविद्यालय र क्याम्पसको अवस्थाबारे हरेक वर्ष अध्ययन गर्छौँ । अध्ययनमा पाँच सय पाँच क्याम्पसमा सयभन्दा कम विद्यार्थी देखिएका छन्,’ उनले भने, ‘यस वर्षको अध्ययन प्रतिवेदन विश्वविद्यालयहरूलाई दिइसकिएको छ । सोका आधारमा विश्वविद्यालयले बन्द तथा मर्जर प्रक्रिया पनि अपनाउन सक्छन् ।’ 

अध्ययनअनुसार एक सयभन्दा कम विद्यार्थी हुनेमा त्रिविका सामुदायिक क्याम्पस बढी छन् । अन्य विश्वविद्यालयको तुलनामा त्रिविका सामुदायिक संख्या बढी भएकाले कम विद्यार्थी हुनेमध्ये त्रिविकै बढी रहेको आयोगको अध्ययनले देखाएको छ । 

बिदेसिने युवाको संख्या बढ्दै गएकाले पनि त्यसको असर उच्च शिक्षामा देखिएको उनको भनाइ छ । हाल त्रिविका क्याम्पसहरूमा करिब चार लाख ९१ हजार र अन्य विश्वविद्यालयमातहतका क्याम्पसमा दुई लाखहाराहारी विद्यार्थी छन् । अन्यको तुलनामा त्रिविमा विद्यार्थी संख्या बढी भए पनि हरेक वर्ष विद्यार्थी संख्या खस्कँदो छ । यस वर्ष स्नातकोत्तर तहको भर्नादेखि नै त्रिविका क्याम्पसमा विद्यार्थी संख्या कम हुन थालेको छ । 

चाबहिलमा रहेको पशुपति बहुमुखी क्याम्पस, लैनचौरको सरस्वती क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पसलगायतमा विद्यार्थी संख्या घट्दो छ । यी क्याम्पसमा विगतका वर्षमा विद्यार्थी चाप धेरै हुने गरे पनि यस वर्ष पहिलो वर्षमा भर्ना हुन आउने विद्यार्थी संख्या निकै कम देखिएको छ । 

कठिन अवस्थामा रहेका क्याम्पसलाई मर्ज गर्न सुझाव दिइए पनि मर्ज हुने संख्या न्यून रहेको उनले बताए । आयोगकै प्रतिवेदनका आधारमा त्रिविअन्तर्गतका ३५ वटा क्याम्पस गत वर्ष गाभिएका थिए । यो वर्ष पनि केही क्याम्पस गाभिन सक्ने भण्डारीले बताए । क्याम्पस गाभिँदा कार्यक्रम हेरेर अनुदान आयोगले शुल्क पनि दिने गर्छ । गाभिएमा न्यूनतम २५ लाख रकम आयागले दिन्छ । कार्यक्रम हेरेर यो अनुदान बढ्न पनि सक्छ ।

पछिल्लो समय आयोगले सामुदायिक क्याम्पसकेन्द्रित अनुदान बाँड्ने गरेको छ । सामुदायिक क्याम्पसले आम्दानी आर्जन गर्न नसकेको र कतिपयले नाफा आर्जन गरे पनि सरकारकै हुने भएकाले सामुदायिक क्याम्पस आयोगको प्राथमिकतामा पर्छन् । आयोगले क्याम्पसहरूको नतिजा, कार्यक्रम र विद्यार्थी संख्याको आधारमा हरेक वर्ष अनुदान दिने गर्छ । 

विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरूको नतिजा, कार्यक्रम र विद्यार्थी संख्या हेरेर सातदेखि ३२ लाखसम्म अनुदान दिन्छ । विश्वविद्यालयबाट अनुदान पाउन योग्य हुन हिमाली क्षेत्रमा रहेको सामुदायिक क्याम्पसमा कम्तीमा ५०, पहाडका क्याम्पसमा ७५, तराईका क्याम्पसमा एक सय र उपत्यकाका क्याम्पसमा १५० विद्यार्थी संख्या हुनुपर्छ । यदि योभन्दा कम संख्या भएमा अनुदान दिइँदैन । 

आयोगले विश्वविद्यालयको मापदण्ड पालना गरेका, भौतिक संरचना व्यवस्थित भएका, नतिजा राम्रो भएका, विद्यार्थी धेरै भएका, विज्ञान संकाय पढाउने क्याम्पसलाई बढी अनुदान दिन्छ । आयोगले गत वर्ष ४८४ सामुदायिक क्याम्पसलाई अनुदान दिएको थियो । यसपटक पाँच सय क्याम्पसले अनुदानका लागि आयोगमा फारम भरेका छन् । तर, छनोट गर्न भने बाँकी छ ।

देशभर कति क्याम्पस ? 
आयोगको तथ्यांकअनुसार हाल देशभर जम्मा एक हजार ४३२ वटा क्याम्पस छन् । हाल सयभन्दा कम विद्यार्थी भएका क्याम्पसमध्ये १७८ वटा सामुदायिक, १९ वटा आंगिक र ३०८ वटा निजी क्याम्पस छन् । तीमध्ये ५०५ मा सयभन्दा थोरै विद्यार्थी छन् । हाल विश्वविद्यालयहरूका आंगिक क्याम्पस १६४ छन् । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसको संख्या ५४० भन्दा बढी छन् । ७२३ निजी क्याम्पस छन् ।

विद्यार्थी खोज्न बिचौलिया !
त्यस्तै, भवन चिरिच्याट्ट भए पनि विद्यार्थी भर्ना हुन नआउँदा क्याम्पसप्रमुखहरू चिन्तामा छन् । उनीहरूले विद्यार्थी घट्दै गएमा क्याम्पसको जग नै कमजोर हुन सक्ने भन्दै विद्यार्थी खोज्ने नयाँ तरिका अपनाउन थालेका छन् । कतिपय क्याम्पसले ‘कमिसन’ दिने गरी बिचौलियामार्फत विद्यार्थी खोज्न थालेका छन् । कतिपय क्याम्पसले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई नतिजा नआउँदै आफ्नो कलेजमा भर्ना गर्न दबाबसमेत दिने गरेका छन् । त्यस्तै, अधिकांश क्याम्पसमा पढाउने प्राध्यापक स्कुल तहमा पनि पढाउने र कतिपयले स्कुल नै चलाउँछन् पनि । उनीहरूमार्फत पनि विद्यार्थी ल्याउने प्रयास गरिन्छ । विद्यार्थी आकर्षण गर्न केही क्याम्पसले भर्ना शुल्क घटाएका छन् । 
 
 

सुझावित समाचार