भारतीय सेनाध्यक्ष काठमाडौंमा, आज द्विपक्षीय वार्ता

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

पाँचदिने औपचारिक भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार काठमाडौं आइपुगेका छन् । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय सेनाध्यक्ष द्विवेदीबिच जंगी अड्डामा बिहीबार औपचारिक द्विपक्षीय वार्ता हुनेछ ।

दुई सैनिकबिच पारस्परिक सहकार्य तथा हितका विषयमा छलफल हुने उनले बताए । बिहीबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष भएका द्विवेदीको यो पहिलो विदेश भ्रमण हो ।

बुधबार काठमाडौं आएपछि उनले पशुपतिनाथको दर्शन गरेका थिए । द्विवेदीले शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । शुक्रबारै उनले शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजमा शिक्षार्थीलाई सम्बोधन गर्नेछन् ।

उनले शनिबार मौसमले साथ दिएमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने र पोखरामा पश्चिम पृतना हेडक्वार्टर भ्रमण गर्ने तथा भारतीय पेन्सन वितरण अफिसमा भूतपूर्व भारतीय गोर्खा सैनिकहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
 

सुझावित समाचार