इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण

प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले प्रधानमन्त्री केपी ओलीसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन्।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएका हुन्। उक्त अवसरमा इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन सरकारलाई आग्रह गरिएको छ।

ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्ट रूपमा संयुक्त राष्ट्रसंघजस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ। ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका विपिन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाको जीवनरक्षाका लागि युद्धकालभर नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ।

प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने स्पष्ट गर्दै तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सहिरहने भन्ने नभएकाले ध्यानाकर्षणमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट पारे। ‘हामी विश्वशान्तिका पक्षमा छौँ। कुनै शक्तिविरुद्ध आफैँ लड्न जाँदैनौँ । कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ, तर अन्याय सहेर बस्दैनौँ,’ उनले भने, ‘हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानव अधिकारको रक्षामा हुनेछौँ।’

भेटमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी)का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रूपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी थिए।

सुझावित समाचार