एनपिएलका आठै फ्रेन्चाइजले गरे जर्सी सार्वजनिक

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण
एनपिएलका आठै फ्रेन्चाइजले गरे जर्सी सार्वजनिक

चितवन राइनोजको जर्सी सावर्जनिक गरिँदै ।

१५ मंसिरदेखि सुरु हुने एनपिएलका लागि चितवन राइनोज बन्यो जर्सी सार्वजनिक गर्ने अन्तिम टोली

नेपाल क्रिकेट संघ (क्यान)ले १५ मंसिरदेखि आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी आठै फ्रेन्चाइज टोलीहरूले जर्सी सार्वजनिक गरेका छन् । जनकपुर बोल्ट्स, चितवन राइनोस र विराटनगर किंग्सले २४ घण्टाको अन्तरमा एनपिएलमा लगाउने आधिकारिक जर्सी सार्वजनिक गरेका छन् । जर्सी सार्वजनिक गर्ने अन्तिम फ्रेन्चाइज टोली विराटनगर बन्यो । 

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की रहेको विराटनगरले मंगलबार जर्सी सार्वजनिक गरेको हो । कोशीका मुख्यमन्त्री हिक्मत कार्की, टिम प्रबन्धक पारस लुनियालगायतको उपस्थितिमा सन्दीपले जर्सी सार्वजनिक गरेका हुन् । विराटनगरले एनपिएलमा आफ्नो ’टिम एन्थम’ पनि सार्वजनिक गरेको छ । गायक कुशल पोखरेलको स्वरमा रहेको एन्थम हिपहप शैलीको छ । एमएडी ड्रिम स्पोर्टस्को स्वामित्वमा रहेको विराटनगरका टिम प्रबन्धक पारसले ६ वर्ष नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए । 

विराटनगरमा प्रतिश जिसी, बसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दीपक बोहोरा, सुवास भण्डारी, नरेश भट्ट र मृणाल गुरुङ खेलाडी छन् । विराटनगरले लिगका लागि पाँचै विदेशी खेलाडी भित्र्याइसकेको छ । विश्व क्रिकेटकै चर्चित न्युजिल्यान्डका खेलाडी मार्टिन गुप्टिल यसै टोलीमा छन् । सन् २०१५ को विश्वकपमा मार्टिनले विश्वकपमा दोहोरो शतकीय इनिङ्स खेलेका थिए । विश्वकपमा दोहोरो शतक लगाउन उनी पहिलो खेलाडी हुन् । विराटनगरमा विदेशी खेलाडीमा ओमानका कप्तान अकिब इलियास, निकोलस क्रिटोन, क्रिस सोल र इस्मत आलम छन् । 

चितवनले सार्वजनिक गर्यो जर्सी र गीत
चितवनले आधिकारिक जर्सी र गीत सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने र मार्की खेलाडी कुशल मल्लसहितका खेलाडीले जर्सी सार्वजनिक गरेका हुन् । एकसिंगे गैँडाको मस्कट, पञ्चेबाजासहित टोलीका खेलाडी जर्सी लगाएर देखापरेका थिए । भरतपुरकी मेयर दाहालले महानगरले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने बताइन् । 

दक्ष र क्षमतावान् खेलाडी जन्माउन महानगरले खेल क्षेत्रमा लगानी बढाइरहेको उनले जनाइन् । ‘हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिइरहेका छौँ । यो रंगशाला निर्माण भएपछि दक्ष खेलाडी उत्पादन हुने क्रम अझै बढ्छ भन्ने आशा छ,’ उनले भनिन्, ‘हामी भरतपुरलाई खेलकुदको हब बनाउन चाहन्छौँ ।’ मार्की खेलाडी मल्लले खेल जित्नका लागिसकेको प्रयास गर्ने बताए । 

चितवन राइनोज क्लब प्रालिका अध्यक्ष न्यौपानेले टिमले क्षमतावान् खेलाडीहरूलाई समावेश गरेकाले खेल जित्ने दाबी गरे । ‘चितवन राइनोज गैँडाजत्तिकै बलियो छ । हामी पहिलो सिजन जितेर देखाउनेछौँ,’ उनले भने । 

सुदूरपश्चिमलाई एकेडेमीको साथ
सुदूरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)बिच ’एजुकेसन पार्टनर’का लागि सहकार्य सम्झौता भएको छ । सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह र एसपिएका प्रबन्ध निर्देशक सुवास शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । एसपिएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना गरेको थियो । धनगढीलाई सिटी अफ क्रिकेटको पहिचान दिन एसपिएले निरन्तर मिहिनेत गरिरहेको छ ।

सुदूरपश्चिमका मालिक शाहले एसपिएको प्रभाव शिक्षासँगै खेलकुदमा उत्तिकै प्रभावकारी रहेको बताए । ‘हामीले सुदूरपश्चिमको क्रिकेट विकास गर्ने लक्ष्य राख्दा एसपिएसँग सहकार्य गर्न पाउनु सौभाग्यको कुरा हो,’ उनले भने । एसपिएका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी लागेको बताए । ’हामी क्रिकेटको माध्यमबाट खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ । हामी सबै एक भएर आउँदा लक्ष्य प्राप्तिका लागि थप सहज हुन्छ,’ उनले भने, ‘सबैले फाप्ला अन्तर्राष्ट्रिय रंगशालामा खेल आयोजना गर्ने सपना देखेका छन् ।’ सुदूरपश्चिमका मार्की खेलाडीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । 

कर्णालीका पाँच उदीयमान क्रिकेटर
फ्रेन्चाइज टोली कर्णाली याक्सले पाँचजना उदीयमान खेलाडी सार्वजनिक गरेको छ । कर्णालीले कर्णाली प्रदेशबाट छानिएका पाँचजना उत्कृष्ट खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको हो । उदीयमान खेलाडी छनोटका लागि कर्णालीका अधिकारी सुर्खेतमा पुगेका थिए । उत्कृष्ट पाँचमा छनोट हुनेहरूमा मनीष थापा, निश्चल रावल, विपिनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्ती रहेका छन् । उनीहरूले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । कर्णालीले छनोट भएका उदीयमान खेलाडीलाई बधाई दिँदै क्रिकेट सपनालाई निरन्तरताका लागि शुभकामना दिएको छ ।

काठमाडौंले ल्यायो पाँचौँ विदेशी खेलाडी
काठमाडौं गुर्खाजले एनपिएलका लागि अनुभवी इंग्लिस लेग स्पिनर नाथन सोउटरलाई भित्र्याएको छ । नाथनले इंग्लिस घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी विशेष गरी टी–२० ब्लास्टजस्ता प्रतियोगितामा प्रभावशाली देखिन्छन् । काठमाडौंका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले सोउटरको आगमनमा खुसी भएको बताए । ‘नाथनले हाम्रो टोलीमा अनुभव र रणनीतिक कौशल थप्नेछन् । दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने उनको क्षमता महत्वपूर्ण हुनेछ,’ उनले भने । नाथनले एनपिएलमा काठमाडौंबाट खेल्न पाउँदा सम्मानको कुरा भएको बताए । ‘नेपालका क्रिकेटप्रेमी प्रशंसकका अगाडि उत्कृष्ट प्रदर्शन गर्न र टोलीको सफलतामा योगदान दिन उत्सुक छु,’ नाथमले भने । अस्ट्रेलियामा जन्मिएका उनले न्यु साउथ वेल्सको यू–२३ टोलीबाट खेलेका थिए । ३२ वर्षे उनीसँग द हन्ड्रेड्स, भाइटालिटी ब्लास्ट, क्यारेबियन प्रिमियर लिग, इन्टरनेसनल लिग टी–२० को अनुभव छ ।

एनपिएलमा भित्रियो एनसेल
नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलमा एनसेललाई भित्र्याएको छ । क्यानले एनसेलसँग ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरेको हो । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा महत्वपूर्ण प्रायोजन सम्झौता भएको छ । ब्रान्ड लजिकले यसअघि एनपिएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरेको थियो । प्रतियोगिताका सम्पूर्ण खेलको प्रसारणका लागि क्यानले भारतीय कम्पनी स्टार स्पोर्टस् नेटवर्कसँग सम्झौता गरिएको छ । 

See More On

सुझावित समाचार