मेटलाइफ फाउन्डेसनले सामुदायिक प्रभाव अनुदान कार्यक्रम (सिआइजिपी) नेपालमा विस्तार गरेको छ । स्थानीय समुदायमा गम्भीर समस्यालाई सम्बोधन गर्ने गैरनाफामूलक संस्थालाई सहयोग गर्ने प्रयासका रूपमा यो कार्यक्रम विस्तार गरेको हो । भोकमरी राहत र पोषण, शारीरिक र मानसिक स्वास्थ्य र वातावरणीय दिगोपनमा नेपालमा काम गरिरहेका तीन संस्थाहरूलाई अनुदान प्राप्त कर्ताका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ ।
अनुदान प्राप्त गर्नेमा एक्सन अगेन्स्ट हंगर, निवास र अवेक रहेका छन् । एक्सनले उदयपुरको बेलाकामा खाद्य सुरक्षा र पोषण सुधार गर्न अमेरिकी डलर एक लाख प्राप्त गर्नेछ । त्यस्तै, निवासले महिलालाई भूमि र आवासमा पहुँच सुरक्षित गर्न ८८ हजार डलर प्राप्त गर्नेछ भने सोलुखुम्बुको हिमाली क्षेत्रमा सोलुचामले आफ्नो परियोजना अवेकले अल्पसंख्यक युवालाई वातावरणीय दिगोपन प्रशिक्षण प्रदान गर्न ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
यो अनुदानबाट १६ हजारभन्दा बढी मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘मेटलाइफ फाउन्डेसनको सहयोगबाट यी संस्थाहरू नेपालका ग्रामीण समुदायका लागि उज्यालो र दिगो भविष्य निर्माण गर्ने बाटोमा छन्।
यी प्रयासहरूको सकारात्मक तरंग प्रभावले समाजलाई बलियो बनाउँछ, महिलालाई सशक्त बनाउँछ र आउँदो पुस्तालाई आफ्नो समुदायमा लचिलोपन, आत्मविश्वास र आशाका साथ नेतृत्व गर्न सुसज्जित बनाउँछ ।’ कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्परालाई निरन्तरता दिन मेटलाइफ फाउन्डेसन सन् १९७६ मा स्थापित भएको संस्था होे ।