जलवायु शिक्षामा पहुँचको प्रश्न

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

हाम्रो शिक्षा प्रणालीले बालबालिकालाई भविष्यबारे बुझ्न र खोज गर्न आवश्यक संयन्त्र एवं ज्ञानले सुसज्जित गर्न सकेको छैन

सन् १९९५ को कविता ‘द राइट टु ड्रिम’मा उरुग्वेका कवि एडुआर्डो गालियानोले प्रकृति, समानता र शान्तिको सम्मान हुने गरी भविष्यको चित्रण गर्दै ‘सन् २०२५ मा विश्व कस्तो हुनेछ’ भन्ने परिकल्पना गरेका थिए । यद्यपि ०२५ नजिकिँदै छ र गालियानोको परिकल्पना कुनै पनि कोणबाट साकार हुने देखिँदैन । वास्तवमा हामीले मानव सभ्यताको अस्तित्वलाई खतरामा पार्ने विभिन्न परिस्थितिको सामना गरिरहेका छौँ । यो वर्ष मात्रै लाखौँ मानिसले चरम जलवायु प्रकोप, कीर्तिमानी तापमान, नरसंहार र विषाक्त रसायन एवं प्रदूषणको घातक जोखिमको अनुभव गरेका छन् । यी संकटले सामूहिक मृत्यु, चोटपटक, विस्थापन, गरिबी र आघात निम्त्याएको छ ।

निकट भविष्य डरलाग्दो देखिन्छ र यो परिस्थितिमा हाम्रो शिक्षा प्रणालीले बालबालिकालाई भविष्यबारे बुझ्न र खोज गर्न आवश्यक संयन्त्र एवं ज्ञानले सुसज्जित गर्न सकेको छैन । विद्यालय समाजलाई आकार दिने स्थान हुन् र शिक्षाले कि यथास्थितिलाई सुदृढ गर्न सक्छ वा न्यायपूर्ण एवं दिगो भविष्यको विकास गर्न सक्छ । विश्वभर उग्र–दक्षिणपन्थी र अधिनायकवादी सरकारले बारम्बार सार्वजनिक शिक्षा, साहित्य र जाति एवं लैंगिक इतिहासको शिक्षालाई तारो बनाउँदै आएका छन् । र, यस्ता आक्रामक नीति नभएका मुलुक वा क्षेत्रमा पनि नयाँ पुस्तालाई जलवायु परिवर्तनका समयमा बाँच्न र त्यसविरुद्ध अर्थपूर्ण कदम चाल्न आवश्यक शैक्षिक प्रणाली अपर्याप्त छ ।

जलवायु प्रकोपले शिक्षाको पहुँचमा अवरोध पुयाइरहेको भन्दै विश्वमा युवामाझ वातावरणीय चिन्ता व्याप्त छ र प्रदूषणले लाखौँ बालबालिकाको स्वास्थ्यमा असर गरिरहेको छ । यस सन्दर्भमा युवालाई जलवायु संकट सामना गर्न तयार पार्नु आवश्यक छ । युनेस्को र मनिटरिङ एन्ड इभ्यालुएटिङ क्लाइमेट कम्युनिकेसन (एमइसिसिई) परियोजनाको ग्लोबल एजुकेसन मोनिटरिङ रिपोर्टले विश्वव्यापी शिक्षा प्रणालीले पाठ्यक्रममा जलवायु परिवर्तनलाई कसरी समावेश गर्छ भनेर गरिएको जाँचमा ५० प्रतिशत अंक मात्र प्राप्त गरेको छ । यसले अधिकांश मौसमसँग सम्बन्धित सामग्री अझै पनि विज्ञानका कक्षामा सीमित छन् र अन्य विषयसँग नजोडिएको देखाएको छ ।

टेक्सासको सार्वजनिक विद्यालयमा पढेकी मैले पाठ्यक्रमका यी कमी–कमजोरी प्रत्यक्ष देखेकी छु । पुस्तकमा जलवायु परिवर्तनलाई संक्षिप्त रूपमा मात्र उल्लेख गरिएको थियो र सामान्यतया ध्रुवीय भालुलाई असर गर्ने भविष्यको समस्याका रूपमा चित्रण गरिएको थियो । प्रस्तावित समाधान बिरलै पुनः प्रयोग र कार्बन फुटप्रिन्ट घटाउनेमा केन्द्रित थियो । महिलाको नेतृत्वमा रहेको संस्था पीपल अर्गनाइज्ड इन डिफेन्स अफ अर्थ एन्ड हर रिसोर्सेस (पोडर) ले योङ स्कलर्स फर जस्टिस (वाइएसजे) कार्यक्रममा मैले इन्टर्न (कार्यस्थलमा सिकाइ) गर्दा मैले कुरा बुझ्न थालेकी थिएँ । वाइएसजे पाठ्यक्रमले वातावरणीय न्यायका लागि संगठित हुने, गैरश्वेत समुदायका नेतृत्वमा भएका आन्दोलनको इतिहास, स्थानीय आदिवासी संस्कृति र सामाजिक राजनीतिक संरचनाको एक महत्वपूर्ण परीक्षणमा केन्द्रित छ ।

पाठ, कला एवं कविता कार्यशाला, अतिथि वक्ता र आयोजन गतिविधिमार्फत मैले अन्ततः मेरो समुदायमा देखिएका र अनुभव गरेको असमानता के हो र तिनलाई किन र कसरी व्यक्त गर्न सकिन्छ भन्ने सिकेकी थिएँ । जलवायु समाधानमा परम्परागत ज्ञानले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मैले पहिलोपटक बुझेकी थिएँ । बिरुवा, वृक्ष आत्मा, बोधिसत्व र अन्य विषयबारे ब्रह्माण्डीय कथा मेरो हक्का र आदिवासी ताइबानी पुर्खाले सिञ्चित गरेको विवेकलाई जोड्न सफल भएकी थिएँ । मैले सिकेको सांस्कृतिक शिक्षाले मेरो घरबाहिरको वातावरणको महत्व राख्यो । त्यसपछिका वर्षमा मैले पेट्रोकेमिकल उद्योगको विरोध गर्ने र सफा एवं किफायती पानीको पैरवी गर्नेदेखि जीवाश्म इन्धनमा रोकका लागि जोड दिने र सञ्चयी प्रभाव नीति प्रवद्र्धन गर्ने विभिन्न अभियानमा संलग्न भएँ ।

मैले पोडर, मेरी आमाका कथा, मेरो समुदाय, मेरा आमूल परिवर्तनकारी विचार राख्ने प्राध्यापक र संगठनबाट प्राप्त गरेको जलवायु न्याय शिक्षाले मलाई निराशालाई आशामा बदल्न प्रेरित गरेको थियो । म शिक्षालाई स्वतन्त्रताको अभ्यासका रूपमा हेर्छु र संस्कृतिलाई पुनः दाबी गर्ने, इतिहास पुनः लेख्ने र हाम्रो विश्वको पुनः कल्पना गर्ने अवसरका रूपमा पनि हेर्छु । सबै विद्यालयका विद्यार्थीको बृहत् जलवायु शिक्षामा पहुँच हुनु अनिवार्य छ भन्नेमा म विश्वास गर्छु । यो शिक्षा परम्परागत पारिस्थितिकी, न्याय, आलोचनात्मक चेतना, सामाजिक भावनात्मक शिक्षा, स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) र पहलकदमीमा केन्द्रित छ । 

पुस्तकमाथिको प्रतिबन्ध, विविधतापूर्ण इतिहास र जलवायु विज्ञानमा आक्रमणको सामना गर्दा पनि हामीले समुदायलाई आवश्यक शिक्षामा पहुँच सुनिश्चित गर्न काम गरिरहनुपर्छ । यो अहिलेको समयमा थप महत्वपूर्ण छ किनभने अमेरिकामा चाँडै जलवायु परिवर्तनको अस्वीकारलाई समर्थन गर्ने नयाँ सरकार बन्दै छ । हामीले जलवायु संकटको सामाजिक–राजनीतिक मूल कारण र समाधान बुझ्न जलवायु संकटको सामान्य बुझाइबाहिर निस्किनुपर्छ । यही कारणले गर्दा मजस्ता युवा हस्ताक्षर गरेको कल टु एक्सन (पहलकदमीको आह्वान) लाई समर्थन गर्छौं ।

हामीले आगामी पुस्तालाई जलवायु संकट र संरचनागत उत्पीडनको सामना गर्न आवश्यक संयन्त्र र ज्ञान प्रदान गर्नुलाई आफ्नो दायित्व सम्झेका छौँ । यो दायित्व पूरा गर्दा मात्रै हामी एक पृथक् विश्वको कल्पना र निर्माण गर्न सक्छौँ र हाम्रा भावी पुस्ताले यो सपना देख्न सक्नेछन् भन्नेमा म इमानदारीपूर्वक आशावादी छु । के थाहा, सम्भवतः सन् २०५५ मा गालियानोको सपना साकार हुनेछ कि ? 

(लेकलर्क जलवायु अभियन्ता एवं स्टार्ट : इम्पावरमेन्टकी सह–संस्थापक हुन्) 
अल जजिराबाट

 

सुझावित समाचार