निर्जीवन बिमाको नाफा ८६%ले घट्यो, जीवन बिमाको १९%ले बढ्यो

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

बाढीपहिरोको असर निर्जीवन बिमा कम्पनीमा, ठुलो मात्रामा आकस्मिक दाबी बढ्दा नाफा प्रभावित

असोजमा आएको बाढीले निर्जीवन बिमा कम्पनीहरूमा आकस्मिक दाबी बढेपछि चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा खुद नाफा ८६.३० प्रतिशतले घटेको छ । कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीमध्ये चारवटा घाटामा गएका छन्, चारवटाको नाफा घटेको छ भने ६ कम्पनीले नाफा बढाएका छन् । गत आवको पहिलो त्रैमासमा निर्जीवन बिमा कम्पनीहरूको नाफा एक अर्ब २१ करोड ६० लाख रुपैयाँ थियो । चालू आवको पहिलो त्रैमासमा एक अर्ब चार करोड ९५ लाख रुपैयाँले घटेर १६ करोड ६५ लाख रुपैयाँ सीमित भएको छ ।

बाढीका कारण २८ कात्तिकसम्म ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँबराबरको दाबी परेको छ । त्यसमा कम्पनीहरूले ६१ करोड ७ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका छन् । सर्भेलगायतका प्रक्रिया सकेर पूरा दाबी भुक्तानी गर्न समय लाग्नेछ । बाढीले ठुलो मात्रामा दाबी पर्ने भएपछि कम्पनीहरूले असोज मसान्तसम्मको वित्तीय विवरणमा सम्भावित जोखिमबापत राख्नुपर्ने प्रोभिजनिङ बढाएका छन् । त्यसले कम्पनीहरूको नाफा घट्न गएको हो ।

नेपाल बिमक संघका अध्यक्षसमेत रहेका सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पछिल्लो समयमा बाढीपहिरोकै कारण कम्पनीहरूको नाफा प्रभावित भएको बताए । ‘यो नियमित दाबी नभएर आकस्मिक रूपमा आएको दाबी हो, जुन आफैँमा ठुलो छ । दाबी नदिए पनि यसका लागि प्रोभिजनिङ रकम बढाउनुपरेको छ । केही कम्पनीहरू घाटामा गएका छन् । साथै, केही कम्पनीको नाफा घटेको पनि देखिन्छ,’ उनले भने, ‘पछिल्लो परिस्थितिकै कारण यस्तो अवस्था आएको हो ।’

यस अवधिमा चार कम्पनी घाटामा गएको देखिएको छ । पहिलो त्रैमासमा दी ओरियन्टल इन्स्योरेन्स सबैभन्दा धेरै २४ करोड ५१ लाख रुपैयाँले घाटामा गएको छ । गत आवको यस अवधिमा उक्त कम्पनी एक करोड ४९ लाख रुपैयाँले नाफामा थियो । यसैगरी, नेसनल इन्स्योरेन्स १८ करोड तीन लाख रुपैयाँले घाटामा गएको छ । गत आवको यसै अवधिमा उक्त कम्पनी २१ करोड ६० लाख रुपैयाँले नाफामा थियो । यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स आठ करोड ९५ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्स एक करोड ८१ लाख रुपैयाँले घाटामा छन् । गत आवको यस अवधिमा सगरमाथा लुम्बिनी आठ करोड १५ लाख रुपैयाँ र युनाइटेड अजोड तीन करोड ८६ लाख रुपैयाँले नाफामा थिए । 

चार निर्जीवनको नाफा घट्यो 
समीक्षा अवधिमा चार निर्जीवन बिमा कम्पनीको नाफा घटेको छ । नेपाल इन्स्योरेन्सको नाफा ९३ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा १६ करोड ६१ लाख रहेको नेपाल इन्स्योरेन्सको नाफा यसपालि एक करोड चार लाखमा सीमित भएको छ ।

सिद्धार्थ प्रिमियरको नाफा पनि ५४ प्रतिशतले घटेर ६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत आवको समीक्षा अवधिमा उक्त कम्पनीले १४ करोड रुपैयाँ नाफा कमाएको थियो । नेको इन्स्योरेन्सको नाफा पनि २० प्रतिशतले घटेर सात करोड चार लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा उक्त कम्पनीले आठ करोड ८० लाख रुपैयाँ नाफा  कमाएको थियो । यसैगरी, एनएलजी इन्स्योरेन्सको नाफा ५ प्रतिशतले घटेको छ । चालू आवको पहिलो त्रैमासमा भने चार करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । 

६ निर्जीवन बिमा कम्पनीले बढाए नाफा
समीक्षा अवधिमा ६ निर्जीवन बिमा कम्पनीको नाफा भने बढेको छ । सानिमा जिआइसीको खुद नाफा ५१ प्रतिशतले बढेर पाँच करोड आठ लाख रुपैयाँ पुगेको छ । हिमालयन एभरेस्टको २४ प्रतिशतले बढेर ६ करोड ६१ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलको १९ प्रतिशतले बढेर ६ करोड १० लाख, राष्ट्रिय बिमा कम्पनीको १४ प्रतिशतले बढेर १५ करोड ६५ लाख, प्रभु इन्स्योरेन्सको ११ प्रतिशतले बढेर पाँच करोड ६० लाख र शिखरको ३ प्रतिशतले ११ करोड ५२ लाख रुपैयाँ नाफा पुगेको छ । 

जीवन बिमाको नाफा झन्डै दुई अर्ब
समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीहरूको नाफा प्रभावित हुँदा जीवन बिमा कम्पनीहरूको नाफा भने १९ प्रतिशतले बढेको छ । चालू आवको पहिलो त्रैमासमा १४ जीवन बिमा कम्पनीले एक अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको भन्दा ३० करोड २० लाख रुपैयाँ बढी हो ।

यो बिमांकीय मूल्यांकनअघिको नाफा हो । आर्थिक वर्ष सकिएपछि गरिने बिमांकीय मूल्यांकनका क्रममा बिमांकीले बिमा कोषमा भएको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सक्नेछन् । त्यसअनुसार जीवन बिमा कम्पनीको नाफा थप बढ्न सक्नेछ ।

समीक्षा अवधिमा राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा ९४ प्रतिशतले घटेको छ । गत आवको समीक्षा अवधिमा तीन करोड ७८ लाख रुपैयाँ रहेको उक्त कम्पनीको नाफा अहिले २२ लाख रुपैयाँमा सीमित भएको छ । यीबाहेक १३ जीवन बिमा कम्पनीको नाफा बढेको छ । बाढीले दुई सय ५० जनाको मृत्यु भए पनि जीवन बिमा कम्पनीको नाफाको ठुलो असर पुगेको छैन । बाढीका कारण मृत्यु भएकामध्येबाट जीवन बिमामा कति दाबी पर्यो भनेर कुनै तथ्यांक तयार गरिएको छैन ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले  व्यवसायमा आएको वृद्धिले नाफा बढेको बताए । ‘व्यवसाय विस्तार, लगानीको विविधीकरण, बढ्दो लगानीको प्रतिफललगायतका कारण जीवन बिमा कम्पनीको नाफामा वृद्धि देखिएको छ,’ उनले भने, ‘यद्यपि, बिमा कम्पनीहरूका लागि निक्षेपमा विशेष ब्याजदर तोक्नुपर्छ ।’ निक्षेपको ब्याज नै बिमा कम्पनीको मुख्य आम्दानी हुने र त्यसले नै बिमितले पाउने बोनस निर्धारण हुने उनले बताए । 

लघुबिमाको नाफा घट्यो 
समीक्षा अवधिमा सात लुघबिमाको कुल नाफा पनि ७३.३२ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा सात लघुबिमा कम्पनीले ६७ लाख २६ हजार रुपैयाँ नाफा कमाएका थिए । चालू आवको पहिलो त्रैमासमा त्यो १७ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । गत आवदेखि सञ्चालनमा आएका लघुबिमा कम्पनीहरूको व्यवसायमा अस्थिरता आइरहेको छ ।

त्यसमा ट्रस्ट माइक्रो इन्स्योरेन्स ७९ लाख ५३ हजार रुपैयाँले घाटामा गएको छ । गत आवको समीक्षा अवधिमा यो कम्पनी सञ्चालनमा आइसकेको थिएन । यस्तै, समीक्षा अवधिमा स्टार माइक्रो इन्स्योरेन्सले १४ लाख ४५ रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सले चार लाख १० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले तीन लाख ८१ हजार खुद नाफा कमाएको छ ।

यस्तै, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १० लाख ५८ हजार रुपैयाँ, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले ११ लाख ५३ हजार रुपैयाँ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ५३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

See More On

सुझावित समाचार