नोभेम्बर ६ मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएयता लाखौँ मानिसले एक्स छाडिसकेका छन्, यो सोसल नेटवर्क ट्रम्पको ‘मेगाफोन’मा बदलिएको भन्दै कैयौँ प्रयोगकर्ता असन्तुष्ट छन्
कुनै समय सूचना आदानप्रदानका लागि आदर्श प्ल्याटफर्म मानिने सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर)बाट गत साता अहिलेसम्मकै धेरै प्रयोगकर्ता एकैपटक बाहिरिए । एक्सको सबैभन्दा नयाँ प्रतिद्वन्द्वीको रूपमा उदाइरहेदो ‘ब्लुस्काई’ले गत साता नै २४ घन्टाभित्रै १० लाख नयाँ प्रयोगकर्ता हासिल गर्दै १.६ करोड प्रयोगकर्ता पुर्याएको छ । नोभेम्बर ६ मा डोनाल्ड ट्रम्पको चुनावी जितयता लाखौँ मानिसले एक्स छाडिसकेका छन् । यसका पछाडि मुख्यतया एक्सका मालिक तथा विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्क जिम्मेवार छन् । मस्कको आगमनपछि उक्त सोसल नेटवर्क ट्रम्पको ‘मेगाफोन’मा बदलिएकोमा कैयौँ प्रयोगकर्ता असन्तुष्ट छन् ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि ट्रम्पले मस्कलाई भविष्यमा बनाइने ‘सरकारी दक्षता विभाग’को नेतृत्व दिने घोषणा गरेका छन् । अझ रोचक के भने मस्कले यस महत्वपूर्ण सरकारी मनोनयका लागि सिनेटबाट अनुमोदन हुनुपर्नेछैन । साथै उनले यस सरकारी पदमा रहँदा आफ्नो व्यावसायिक कार्यलाई पनि निरन्तरता दिन सक्छन् । उनले अहिले ‘एक्स’का अतिरिक्त विद्युतीय कार कम्पनी ‘टेस्ला’ र रकेट बनाउने कम्पनी ‘स्पेसएक्स’लगायत विभिन्न व्यवसाय चलाइरहेका छन् । अमेरिकाको इतिहासमा पहिलोपटक एकजना प्रविधि अर्बपति आफ्नो व्यवसायमार्फत अप्रत्यक्ष रूपमा नभई प्रत्यक्ष रूपमा लोकतन्त्रलाई आकार दिन गइरहेका छन् । ‘मस्कसँग तुलना गर्न मिल्ने अर्को कुनै ऐतिहासिक उदाहरणबारे मलाई थाहा छैन,’ प्रविधि विश्लेषण गर्ने कम्पनी एन्डरलेका अध्यक्ष रोब एन्डरले भने ।
मक्सले कुनै समय ट्विटर (एक्सको पूर्वनाम) राजनीतिक रूपमा तटस्थ हुनुपर्ने वकालत गर्थे । सन् २०२२ मा उनले एक ट्विट गर्दै लेखेका थिए, ‘ट्विटरले आममानिसको विश्वास कमाउन यो माध्यम राजनीतिक रूपमा तटस्थ हुनुपर्छ । जसको अर्थ हो, यसले समान रूपमा दक्षिणपन्थ तथा वामपन्थीविरुद्ध उभिनुपर्छ ।’ त्यही समयतिर उनले ट्रम्पको मनोनयनकै विरोध गर्दै लेखेका थिए । ‘ट्रम्प राष्ट्रपति चुनिए भने उनी कार्यकालको अन्त्यमा ८२ वर्षका हुनेछन्, जुन संयुक्त राज्य अमेरिकाको त परको कुरा कुनै पनि क्षेत्रको प्रमुख कार्यकारी हुन धेरै बुढो उमेर हो ।’
महिनौँपछि जब मस्कले ४४ अर्ब डलरमा ट्विटर किने उनले त्यसका पोस्टको मोडरेट गर्ने कर्मचारी हटाए । ‘एकाउन्ट भेरिफिकेसन (खाता प्रमाणीकरण)’का लागि शुल्क लगाए । ट्विटरको नाम बदलेर ‘एक्स’ बनाए । जनवरी २०२१ मा अमेरिकी संसद्मा उर्लिएको भिडलाई उक्साएको आरोपमा निलम्बित ट्रम्पको खाता पुनस्थापित गरिदिए । त्यसपछि एक्स उग्रदक्षिणपन्थी विचारक, घृणाजन्य पोस्ट गर्ने तथा गलत सूचना फैलाउनेहरूको क्रीडास्थल बन्यो, जसका कारण पुराना प्रयोगकर्तामाझ असन्तुष्टि बढ्यो । अमेरिकी राष्ट्रपतीय निर्वाचनको समयमा मक्सले यस प्ल्याटफर्मलाई ट्रम्पको प्रचारस्थल बनाएपछि खासगरी लिबरलहरू थप चिढिएका छन् ।
भर्खरै ‘गार्जियन’ र ‘अब्जर्भर’ले एक्समा पोस्ट नगर्ने घोषणा गरे । चर्चित अमेरिकी लेखक स्टिफन किङले पनि यो माध्यम ‘धेरै विषाक्त’ भएको भन्दै छाडेका छन् । अस्कर–विजेता हलिउड कलाकार बारब्रा स्ट्रेइस्यान्ड र जेमी ली कर्टिसले समेत एक्स खाता बन्द गरेका छन् ।
‘एक्स अहिले खासमा ‘ट्रुथ सोसल’को प्रिमियम संस्करणमा बदलिएको छ,’ ट्रम्पको स्वामित्वमा रहेको ट्रुथ सोसलबारे चर्चा गर्दै ‘सोसल मिडिया फर एकाडेमिक्स’का लेखक मार्क क्यारिगनले भने । प्रविधि क्षेत्रमा अहिले ट्रम्पको ट्रुथ सोसल एक्सभित्रै समाहित गर्ने चर्चासमेत छ । ‘यदि त्यसो भएमा यो ट्रम्पका विचार विस्तार गर्ने सबैभन्दा सशक्त माध्यम हुनेछ । एक्स सामाजिक सञ्जालको भेषको एक राजनीतिक ‘सुपर–एप’ बन्नेछ । अनि रिपब्लिकन पार्टीको डिजिटल रणनीतिको केन्द्र बन्नेछ एक्स,’ विभिन्न व्यवसायलाई डिजिटल रणनीतिमा सल्लाह दिने आइकोनिकसँग आबद्ध जेम्स किर्खामले भने ।
सन् २०१० को प्रारम्भिक दिन ट्विटरका लागि सबैभन्दा समय थियो । अभियन्ता, कलाकार, वकिल, शिक्षाविद्, नीति–निर्माता, पत्रकार र हरेक क्षेत्रका विशेषज्ञ यसमा जोडिएका थिए । विशेषज्ञहरूले आफ्ना जानकारी व्यक्त गर्ने, विचार आदानप्रदान गर्ने तथा दिन–प्रतिदिनका घटनाबारे जानकारी लिने उत्तम माध्यम थियो ट्विटर । केहीले मस्कको आगमनपछि यो सबै बिग्रिएको बताउँछन् । तर, उनको आगमनअघि नै टिकटक र त्यस्तै खालको एल्गोरिदमले निर्धारण गर्ने टाइमलाइनबाट ट्विटर प्रभावित भइसकेको थियो ।
सामाजिक सञ्जालले प्रयोगकर्ता अनुभवभन्दा आफ्नो मुनाफालाई उच्च महत्व दिन थालेपछि तिनले एल्गोरिदमले छान्ने ‘उत्तम’ सामग्रीलाई प्राथमिकता दिने उपाय अपनाए । अहिले उत्तम सामग्री तिनै हुन्छन्, जो चर्को हुन्छ वा जसले सहजै प्रयोगकर्ताहरूको ध्यान तान्न सक्छ । यस नयाँ एल्गोरिदम केन्द्रित सामाजिक सञ्जालको युगमा विशेषज्ञलाई पछ्याउने, समाचारमा अध्यावधिक हुने वा पछिका लागि सामग्री जोगाएर राख्ने ट्विटरजस्ता प्ल्याटफर्म पछि पर्न थाले ।
गत शुक्रबार ‘ब्लुस्काई’ सबैभन्दा डाउनलोड भएको एप एक्स छाडेकाहरूको छनोट बन्यो । तर, यस एपमा अहिले पनि जम्मा १.६ करोड प्रयोगकर्ता छन्, जुन मेटाको थ्रेडको मासिक २७.५ करोड र एक्सको ३१.७ करोड सक्रिय प्रयोगकर्ताको तुलनामा निकै थोरै हो । एक्सबाट प्रयोगकर्ताको बहिर्गमन शोकको विषय नभएको केही प्राविधिज्ञ बताउँछन् । बरु, यसले उनीहरूले पहिलेदेखि कल्पना गरेको विकेन्द्रीकृत सामाजिक सञ्जाल अर्थात् ‘फेडिभर्स’ युगको मार्ग कोर्न सक्ने तिनको आशा छ ।
‘फेडिभर्स’को वकालत गर्ने तर्क गर्छन् कि प्रयोगकर्ताले एउटा सामाजिक सञ्जाल बनाएपछि पुग्ने हुनुपर्छ । यसका लागि उनीहरू जिमेल वा मोबाइल नेटवर्कलाई आदर्श मान्छन् । जिमेल खाता भएकाहरूले अन्य इमेल ठेगानामा सहजै मेल गर्न सक्छन् वा एउटा कम्पनीको मोबाइल नम्बर भएकाहरूले अर्को कम्पनीको मोबाइल नम्बरमा फोन गर्न सक्छन् । तर, हालसम्म समाजिक सञ्जाल कम्पनीले आफ्ना प्रयोगकर्तालाई तिनकै प्ल्याटफर्ममा रोकिराख्न अन्य माध्यमसँग अन्तत्र्रिmयाको बाटो नै खोलेका छैनन् । तर, नयाँ समाजिक सञ्जाल ‘ब्लुस्काई’ले भने अन्य माध्यमसँग अन्तत्र्रिmया गने ‘इकोसिस्टम’ निर्माण गरेको छ ।
एक्सको भविष्य के होला अहिले नै कसैले भन्न सक्दैन । यो खिइँदै गएर पतन हुन सक्छ वा ट्रम्प समर्थकको मात्र सामाजिक सञ्जालमा बदलिन पनि सक्छ वा अझ भोलिका दिनमा ट्रम्प र मस्कबिच बेमेल भएमा यो ट्रम्पविरोधी प्लेटफर्ममै बन्न पनि बेर लाग्नेछैन । केहीले यसलाई मस्कले उनको एआई कम्पनी एक्स–एआईको प्रशिक्षणस्थल बनाउन सक्ने अनुमान गरेका छन् । आखिर एक दिन एआईले अहिलेको सामाजिक सञ्जाललाई प्रायोजनहीन बनाइदिन सक्छ । संयोग के भने मस्कको एक्सएआईको बजार मूल्य अहिले ४० अर्ब डलर पुगेको छ, जुन मस्कले ट्विटरको खरिदको मूल्य नजिक हो ।
(द गार्जियनका लागि सियान बोइलको लेख)