नगरकोटमा नेपालकै लामो नगरकोट जिपलाइनमा ‘कपल सुपरम्यान जिपलाइन’ सेवा सुरु गरिने भएको छ । नगरकोट जिपलाइन प्रालिले शनिबार नगरकोटमा पत्रकार भेटघाट गर्दै एक महिनाभित्र ‘कपल सुपरम्यान जिपलाइन’ सेवा शुभारम्भ गर्ने घोषणा गरेको हो ।
‘कपल सुप्परम्यान’ प्रविधिमा एकैपटक दुईजनाले जिपलाइन खेल्न सक्नेछन् । हाल नेपाललगायतका मुलुकमा रहेका जिपलाइनमा ‘क्लासिक’ प्रविधिमा मात्रै दुईजना व्यक्ति जिपलाइन खेल्न मिल्छ । सुपरम्यान शैलीमा भने यो दक्षिणा एसियाकै पहिलो हुने कम्पनीका सञ्चालक केदार थापाले बताए । ‘क्लासिक प्रविधिमा दुईजना जिपलाइन खेल्न मिल्ने सुविधा धेरै ठाउँमा छ ।
सुपरम्यान प्रविधिमा भने दुईजना जिपलाइन खेल्न मिल्ने सुविधा ल्याउन लागेको हामी नै पहिलो हो,’ उनले भने, ‘मेरो अध्ययनले दक्षिण एसियामा पनि हालसम्म यस्तो सुविधा देखिएको छैन ।’ क्लासिक प्रविधिमा बसेर जिपलाइनमा झुन्डिने हो । सुपरम्यान प्रविधिमा भने सुपरम्यानजसरी सुतेर जिपलाइन खेलिन्छ, अन्य व्यक्तिले हेर्दा त्यो उडेको जस्तो देखिन्छ । सुपरम्यान प्रविधिको जिपलाइन पछिल्लो समय लोकप्रिय बन्दै गएको पनि अध्यक्ष थापाले बताए ।
‘यो पछिल्लो समय निकै लोकप्रिय भएको छ । त्यसैले यसमै दुईजना जिपलाइन खेल्न मिल्ने सुविधा ल्याउन लागेका हौँ,’ उनले भने, ‘यसलाई अहिलेकै संरचना पर्याप्त हुन्छ । यहीअनुसार दुईजना जिपलाइन खेल्नका लागि केही थप सामग्री आवश्यक हुन्छ । त्यो सामग्री मगाइसकेका छौँ । एक महिनाभित्रै यो सेवा सुरु हुन्छ ।’ उनका अनुसार यसका लागि आन्तरिक परीक्षणसमेत भइसकेको छ । ‘यसका लागि हाम्रो आन्तरिक परीक्षण पूरा भएको छ, जुन सफल पनि भइसकेको छ,’ उनले भने, ‘अब आवश्यक सामग्री आएपछि सेवा सुरु हुनेछ ।’
साहसिक पर्यटन (एड्भेन्चर टुरिजम) प्रवद्र्धनमा यसले थप टेवा पु¥याउने कम्पनीको भनाइ छ । यसले बाह्य तथा आन्तरिक पर्यटकको ध्यानकेन्द्रित गर्ने अपेक्षा पनि कम्पनीको रहेको छ । कम्पनीले करिब पाँच करोड लगानीमा मंसिर ०८० दखि उक्त जिपनलाइन सञ्चालनमा ल्याएको हो । यो एसियाकै दोस्रो र नेपालको पहिलो लामो जिपलाइन हो । जिपलाइन चाँगुनारायण नगरपालिकास्थित वडा नं ६ र ७ को भूभागमा दुई हजार दुई सय ५० मिटर लामो छ ।