नेसन्स कपमा जर्मनीले निकाल्यो ठुलो जित

सोमबार, ३ मंसिर, २०८१
डिजिटल संस्करण

जर्मनीले नेसन्स लिग फुटबल प्रतियोगितामा कीर्तिमानी जित हात पारेको छ । बोस्निया–हर्जगोभिनामाथि ७–० को सानदार जित निकालेको जर्मनीले कीर्तिमान राखेको हो । यो गोलअन्तर अहिलेसम्म विपक्षी पोस्टमा कुनै पनि टोलीले गरेको सर्वाधिक गोल हो । जर्मनीको जितमा टिम क्लेनडेन्स्ट र फ्लोरियल विट्जले समान दुई गोल गरेका थिए । जमाल मुसियला, काई हार्भेट्ज र लेरोए सानेको नाममा समान एक गोल रह्यो । यसअघि नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेको जर्मनीले पाँच खेलमा १३ अंक जोडेको छ ।

खेलको दोस्रो मिनेमा मुसियालाले जर्मनीलाई १–० को अग्रता दिलाए । खेलको २३औँ मिनेटमा क्लेनडेन्स्टले जर्मनीलाई २–० ले अगाडि राखे । खेलको ३७औँ मिनेटमा हार्भेट्जले जर्मनीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । दोस्रो हाफमा जर्मनीले थप आक्रामक शैलीमा प्रतिस्पर्धा गरेको थियो । यस अवधिमा जर्मनीले चार गोल बोस्निया हर्जगोभिनाको पोस्टमा थप्यो ।

फ्लोरियनले खेलको ५०औँ र ५७औँ मिनेटमा गोल गरे । खेलको ६६औँ मिनेटमा सानेले गोल गर्दा जर्मनी ६–० ले अघि रह्यो । खेलको ७९औँ मिनेटमा क्लेनडेन्स्टले जर्मनीलाई ७–० को जित दिलाए । यस हारसँग बोस्निया हर्जगोभिना दोस्रो श्रेणीमा झरेको छ । जर्मनी च्याम्पियनसिप प्लेअफका लागि छनोट भएको छ ।

हंगेरीमाथि नेदरल्यान्ड्सको सानदार जित
अर्को खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४–० ले हराएको छ । नेदरल्यान्ड्सका लागि वोउट वेग, कोडी गाक्पो, डेन्जेल डेम्फ्रेज र टिउन कुपमेइनर्सले समान एक गोल गरेका छन् । यस जितसँगै नेदरल्यान्ड्सले अर्काे चरण पुग्ने सम्भावना बलियो बनाएको छ । नेदरल्यान्ड्सले पाँच खेलबाट ८ अंक जोडेको छ । हंगेरीको समान खेलबाटै ५ अंक छ ।

प्रतियोगिताअन्तर्गत समूह १ मा अजरबैजानलाई इस्टोनियाले गोलरहित बराबरीमा रोकेको छ । यसै समूहमा जर्जिया र युक्रेनबिच १–१ को बराबरी भएको छ । अल्बेनियाले चेक रिपब्लिकलाई बराबरीमा रोकेको छ । स्विडेनले स्लोभाकियामाथि २–१ को जित निकाल्यो । अन्डोरामाथि माल्डोभाले १–० को जित रच्यो । यसैगरी, समूह ४ मा आइसल्यान्डसँग मोन्टेनेग्रो २–० ले पराजित भएको छ । टर्की र वेल्सबिच गोलरहित बराबरी भयो ।

हंगेरीका सहायक प्रशिक्षक अस्पतालमा
हंगेरी र नेदरल्यान्ड्सबिचको प्रतिस्पर्धाका दौरान अप्रिय घटना भयो । हंगेरीका सहायक प्रशिक्षक एडम स्जाई टर्च लाइनमा लडेका थिए । उनलाई तत्कालै प्रारम्भिक चिकित्सक उपचार गरियो ।

१० मिनेटपछि उनलाई अस्पताल पु¥याएको थियो । चिकित्सकहरूले उनको मुटुको धड्कन गति कम भएका कारण मैदानमा लडेको जनाएका छन् । हंगेरीका खेलाडी तथा अफिसियलले उनलाई एम्बुलेन्ससम्म पु¥याएका थिए ।

सुझावित समाचार