महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदका लागि दलगतभन्दा पनि स्वतन्त्र उम्मेदवारी बढी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबाट आठजना र १२ जना स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गराएका छन्।
भोलि उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताएका छन्। सोपछि ४ मंसिरमा उम्मेदवारको नामावली प्रकाशित गर्ने, ५ मंसिरमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरिने उनले बताए। ५ मंसिरका दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
यहाँ १६ मंसिरमा हुने उपनिर्वाचनमा ठुला दलबिच नै प्रतिस्पर्धा हुने अवस्था छ।
आचार संहिताविपरीत गतिविधि
उपनिर्वाचनकाे मनोनयन दर्ताको क्रममा निर्वाचन आचार संहिताविपरीत कामसमेत भएको आरोप छ। वडाको विभिन्न क्षेत्रमा प्रायः दलहरूले ब्यानर तथा तुलहरू अत्यधिक मात्रामा प्रयोग गरिरहेका छन् भने मनोनयन दर्ता तथा घरदैलो कार्यक्रममा बालबालिकासमेत प्रयोग भइरहेको छ। मुख्य निर्वाचन अधिकृतले आचार संहिता पालना नभएको भन्ने जानकारी आएको र तत्काल दलहरूलाई तुल तथा ब्यानर हटाउन निर्देशन दिएको बताए।