उदयपुरका दुई वडाध्यक्षका लागि १४ जनाको उम्मेदवारी

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

उदयपुरमा उपनिर्वाचन हुने दुई वडाका दुई वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी दर्ता भएको छ। त्रियुगा नगरपालिका–१२ मा नौजना र बेलका नगरपालिका–९ मा पाँचजनाको उम्मेदवारी दर्ता भएको हो।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–१२ मा नौजना र बेलका नगरपालिका–९ मा पाँचजनाको उम्मेदवारी दर्ता भएको छ। कार्यालयका अनुसार त्रियुगा–१२ मा कांग्रेसबाट सञ्जीव काफ्ले, एमालेबाट लक्ष्मीनारायण चौधरी र माओवादीबाट नवीनकुमार राई, एकीकृत समाजवादीबाट निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुव पोखरेल, नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद सहनीले उम्मेदवारी दर्ता गरेका छन्।

बजगंगाकुमार दासले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी दिलीप थापामगरले जानकारी दिए। 

यसैगरी, बेलका नगरपालिका–९ मा कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का, माओवादीबाट भरत घिमिरेले वडाध्यक्षको लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

जनता समाजवादी पार्टीका राजकुमार राई, रास्वपाका तेजमान विश्वकर्मा, राप्रपाका टीकाप्रसाद फुँयाल र नेसनल मंगोल अर्गनाइजेसनका सूर्य तामाङले पनि उम्मेदवारी दर्ता गरेका छन्। 

निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा–१२ मा पुरुष एक हजार ८७६ र एक हजार ९७१ सहित तीन हजार ८४० मतदाता छन्। त्यसैगरी, बेलका–९ मा जम्मा तीन हजार १३६ मतदातामध्ये पुरुष एक हजार ५७२ र महिला एक हजार ५६४ छन्। 

२० वैशाख ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरू त्रियुगा–१२ का चूडाराज काफ्ले र बेलका–९ का पदम खड्काको मोटरसाइकल दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
 

सुझावित समाचार