राजस्व संकलनमा जिम्मेवार हुन अर्थमन्त्रीकाे निर्देशन

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खर्च अनुपातमा राजस्व बढ्न नसकेको भन्दै जिम्मेवार भएर राजस्व संकलनमा लाग्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । 

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अपेक्षाअुनसार राजस्व संकलन हुन नसकेको भन्दै कर्मचारीलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिए । ‘संघीयताले आर्थिक केन्द्र विस्तार, खर्चका युनिट एवं आर्थिक गतिविधि विस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गए पनि सो अनुपातमा जसरी राजस्व संकलन बढ्नुपर्ने हो, सोअनुरूप बढ्न सकेको छैन,’ उनले भने, ‘जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरूको लक्ष्य र प्रगतिको तुलना गर्दा प्रगतिको अवस्था सन्तोषजनक छैन, जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन आवश्यक छ ।’ उनले बक्यौता असुली, बेरुजु फर्स्योट, आन्तरिक तथा प्रशासकीय पुनरावलोकनको प्रगतिलगायतमा लक्ष्यअनुरूप नभएकाले कार्यसम्पादन स्तरमा थप सुधार ल्याउन निर्देशन दिए ।

स्रोत व्यवस्थापनको हिसाबले अहिले असामान्य अवस्थामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस्तो अवस्थामा सामान्य हिसाबले कार्यसम्पादन गरेर लक्ष्य भेट्न सक्ने अवस्था नरहेको बताए । उनले राजस्व लक्ष्य हासिल गर्न, कार्यसम्पादन सूचकअनुरूपको प्रगति हासिल गरी विभागीय जिम्मेवारी पूरा गर्न समान लक्ष्य लिएर कार्यसम्पादनमा लाग्न जरुरी रहेको धारणा व्यक्त गरे ।

‘सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन र अन्य अनिवार्य दायित्वका खर्चहरूले स्रोतमाथिको दबाब बढेको छ । सार्वजनिक ऋण सेवा खर्च बढ्दो छ,’ उनले भने, ‘यस्तो अवस्थामा आन्तरिक स्रोत परिचालन प्रभावकारी बनाउनु हाम्रा लागि अनिवार्य हो ।’ 

See More On

सुझावित समाचार