२०औँ राष्ट्रिय कफी दिवसमा गुल्मीका तीन अगुवा कृषक सम्मानित

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

गुल्मीमा २०औँ राष्ट्रिय कफी दिवसको अवसरमा तीनजना अगुवा कृषक सम्मानित भएका छन् । कफी अनुसन्धान कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कफी विकास केन्द्रद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका– २ ग्वाघाका भोजराज रेगामी, मुसिकोट नगरपालिका– ५ आँपचौरका कुलमणि खरेल र मदाने गाउँपालिका– ३ सिर्सेनीका प्रेम अर्याल सम्मानित भएका हुन् ।

रेगामीले ०६१ सालदेखि कफी  उत्पादन गरेका छन् । खरेलले कफी उत्पादन तथा प्रशोधन र अर्यालले लामो समयदेखि कफी उत्पादनको क्षेत्रमा काम गरिरहेका छन् । सम्मानित कृषकहरूलाई प्रमुख अतिथि मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि खरेलसहित रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, कफी तथा चिया विकास बोर्डका पूर्वकार्यकारी निर्देशक शेषकान्त गौतम, राष्ट्रिय फलफूल केन्द्रका वरिष्ठ महेन्द्रप्रसाद आचार्य, जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापालगायतले आफ्नो भनाइ राखेका थिए ।

उनीहरूले कफीको क्षेत्रमा गुल्मेली पहिचान जोगाउन सरकारी निकायसँगै कृषकहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कफीको जजनी जिल्लामै कफी खेतीको उत्साह कम रहेको अवस्थामा सेतो गवारो रोगसँग कृषकहरू जुध्न निकै मुस्किल परेकाले संघीय सरकारले अनुसन्धान कार्यक्रम प्रभावकारी बनाएर रोग नियन्त्रणमा ध्यान दिनुपर्नेमा उनीहरूको जोड थियो ।  

कफी अनुसन्धान कार्यक्रमका प्रमुख वरिष्ठ वैज्ञानिक जर्नादन गौतमले कफीको विकासका लागि सबैले कफी रोप्नुपर्ने र रोग लागे काटेर फाल्ने नभएर प्राविधिक उपचार खोज्नुपर्नेमा जोड दिए । उनले करिब एक हजार आठ सय किसानले जिल्लामा अहिलेसम्म २४१ हेक्टरमा कफी खेती गरिरहेकाले यो निकै कम भएको बताए । गौतमले अनुसन्धान कार्यक्रम जग्गा, जनशक्ति र स्राेत साधनको कारण प्रधावकारी रूपमा काम गर्न नसकेको बताए । कार्यक्रममा कफी विकास केन्द्रका प्रमुख जीवन आचार्यले दिवसको औचित्यबारे प्रकाश पारेका थिए ।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख गंगा पोख्रेलले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा कफीसँग सम्बन्धित काम गर्ने कार्यालय, संघसंस्था, सरोकारवाला र कृषकहरूको सहभागिता रहेको थियो ।

See More On

सुझावित समाचार