कोदालोले खनेर तीन किलोमिटर नहर निर्माण

दुई हजार बिघाभन्दा बढी खेत सिञ्चित गर्ने लक्ष्य

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ४, ७ र ८ क्षेत्रमा कोदालोले खनेर तीन किलोमिटर नहर निर्माण अन्तिम चरणमा पुगेको छ । नहरको ९० प्रतिशत काम सकिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृतमध्येका अति विपन्न दलित समुदायका २५ जना श्रमिकहरूले ५७ दिनमा पूरा गर्ने लक्ष्यसहित नहर खन्न सुरु गरेका हुन् । 

०४७ मा सानो पैनी (पानी बग्ने नाला) बनाइएकोमा त्यसलाई नहरमा रूपान्तरित गरी दुई हजार बिघाभन्दा बढी खेत सिञ्चित गर्ने लक्ष्य लिइएको छ । नहर निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीय किसान उत्साहित भएका छन् । लोहारपट्टी– ८ कविरगामाका ७० वर्षीय गर्भु राउतले पानी अभावमा प्रायः बाँझो रहने गरेको खेतमा अब हरियाली छाउने बताए । वर्षौंसम्म मर्मत नभएको सानो पैनीबाट सिंचाइ हुन नसक्दा किसानहरूले राम्रो उब्जनी गर्न नसकेको बताउँदै अब भने राहत हुने उनले बताए । मोटर र अन्य पद्धतिबाट पानीको जोहो गर्दा ज्यादै महँगो हुने गरेकोमा नहर निर्माणपछि पानीकै लागि धेरै रकम खर्च गर्नुपर्ने बाध्यता हटने राउतको भनाइ छ । 

लोहारपट्टी नगर उपप्रमुख सरिता शर्माले पालिकाले कृषिलाई प्राथमिकतामा राख्दै अगाडि बढाएको भन्दै नहर निर्माणको प्रगति सन्तोषजनक रहेको बताइन् । उनले कम समय र थोरै जनशक्तिले यति धेरै काम कसरी गर्ने भन्नेमा पहिले चिन्ता भए पनि कार्यक्षेत्रमा काम देखेर उत्साहित भएको बताइन् । उनले पालिकाले थप नहर निर्माणसहितका कृषिसम्बन्धी कार्यलाई क्रमिक रूपमा अगाडि बढाउँदै लैजाने बताइन् । कृषि विद्युतीकरण, सिँचाइ, प्रविधिमैत्री खेती र उन्नत बिउ तथा उत्पादित कृषिजन्य उत्पादनलाई बजारीकरण नगरपालिकाको प्राथमिकताको विषय भएको बताइन् ।

लोहारपट्टी नगरपालिका–८ का वडाध्यक्ष रामबाबु यादवले जनअपेक्षाअनुसार काम गर्न पाएको बताए । उनले परनिर्भतालाई चिर्दै कृषिमा आत्मनिर्भर बन्न सिंचाइको महत्वपूर्ण योगदान हुने भन्दै लोहारपट्टी नगरपालिकाबाट थप नहर निर्माण गर्ने लक्ष्य राखिएको बताए । श्रमिकहरूले नहर खन्ने क्रममा विभिन्न जोखिम बेहोर्नुपरेको उल्लेख गर्दै जुत्तालगायतका सुरक्षा साधन नपाएकोप्रति गुनासो गरेका छन् । लोहारपट्टीमा धान, गहुँ, तरकारी, मकै, आँप र दलहन प्राथमिक बाली हुन् ।

See More On

सुझावित समाचार