यू–१९ क्रिकेट विश्वकपमा स्थान बनाएको महिला टोलीलाई भरतपुर महानगरपालिकाले सम्मान गर्ने भएको छ । शनिबार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा नेपाल चिकित्सक संघले आयोजना गरेको एनएमए स्पोर्टस् फिस्ट २०८१ को उद्घाटन गर्दै महानगर प्रमुख रेणु दाहालले १४ खेलाडीलाई सम्मान गर्ने घोषणा गरेकी छिन् । नेपालले युएईलाई निर्णायक खेलमा ८ विकेटले हराउँदै एसिया छनोटमा प्रथम भएको थियो ।
प्रमुख दाहालले भरतपुर महानगरपालिका खेलकुद गतिविधिमा सबैभन्दा एक कदमअगाडि रहेको धारणा राखिन् । उनले सन् २०२७ मा हुने यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताका केही खेल गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताइन् । नेपाल क्रिकेट संघ (क्यान)लाई यसका लागि आवश्यक वातावरण मिलाई रहेको जानकारी गराइन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले निकालेको तालिकाअनुसार सन् २०२७ को महिला यु– १९ विश्वकप नेपाल र बंगलादेशमा हुनेछ । प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्य संघ, प्रदेश र भरतपुर महागनरपालिकाको संयुक्त बजेटमा तीव्र रूपमा निर्माण कार्य अघि बढेको बताइन् ।
कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष विजयराज न्यौपाने, कार्यकारी निर्देशक शिवजी पौडेल, उपनिर्देशक उमेश नेपाल र नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । भरतपुर वडा नम्बर ३ को क्यासी स्पोर्टस्मा सुरु भएको प्रतियोगितामा फुटसल, क्रिकेट, ब्याडमिन्टन र बुद्धिचाल प्रतियोगिता हुने जनाइएको छ ।