सुदूरपश्चिममा उपनिर्वाचनको चहलपहल : समन्वय समितिमा कांग्रेस–एमालेबिच तालमेल प्रयास

शनिबार, १ मंसिर, २०८१
डिजिटल संस्करण
सुदूरपश्चिममा उपनिर्वाचनको चहलपहल : समन्वय समितिमा कांग्रेस–एमालेबिच तालमेल प्रयास

जिल्ला समन्वय समिति कैलाली प्रमुखको टिकट पाएपछि पार्टीका नेताहरुसँग टीका चौधरी ।

आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि सुदूरपश्चिममा चुनावी सरगर्मी बढ्न थालेको छ। सुदूरपश्चिममा एक जिल्ला समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चारजना वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ। प्रमुख पार्टीबाट उम्मेदवारको टिकट पाएकाहरू चुनावी प्रचारमा जुट्न थालेका छन्।

कैलालीमा जिल्ला समन्वय समिति प्रमुख र बाजुरामा स्वामी कात्तिक–खापर गाउँपालिका उपाध्यक्षमा निर्वाचन हुन लागेको हो। त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउँपालिका–४ तथा दार्चुलाको दुहु गाउँपालिका–५, मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।

कांग्रेस, एमाले र माओवादीले लगभग सबैजसो ठाउँमा उम्मेदवारको टुंगाे लगाएका छन्। स्वामी कार्तिक खापरको उपाध्यक्षमा कांग्रेसले पुल्तीसरा शाही, एमालेले सुलोचनाकुमारी भण्डारी र माओवादीले राजुकुमारी विकलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

कांग्रेसले भीमदत्त–६ मा प्रकाश चन्द, पूर्वीचौकी–६, मा मोहनबहादुर थापा, सुर्मा–४ मा वीरेन्द्र पुजारा र दुहु–५ मा धनबहादुर कुँवरलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रदेश समितिका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिए।

एमालेले भीमदत्त–६ मा बहादुर चन्द, पूर्वीचौकी–६ मा देवबहादुर थापा र दुहु–५ मा मानसिंह बडाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुर्मा–४ मा भने उम्मेदवारको टुंगाे लाग्न बाँकी रहेको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताए। माओवादीले भीमदत्त–६ मानाराम कोली, पूर्वीचौकी–६ देवीलाल थापा, सुर्मा–४ मा पुष्करबहादुर बोहरा र दुहुँ–५ मा वीरसिंह कार्कीलाई उम्मेदवार बनाएको छ।

जिल्ला समन्वय समिति कैलालीमा भने कांग्रेस र एमालेबिच तालमेल हुने सम्भावना छ। एमालेले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने गरी छलफल भइरहेको नेताहरूले बताएका छन्। कांग्रेससँगको तालमेलका लागि एमालेले समन्वय समिति प्रमुखको उम्मेदवार सिफारिस गरेको छैन। समन्वय समिति प्रमुखमा कांग्रेसले टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमाले प्रदेश सचिव चन्दले कैलालीमा तालमेल हुने सम्भावना रहेको बताए। ‘यहाँ यसअघि कांग्रेसकै प्रमुख रहेकाले सघाएर जाने भन्ने छ, कैलालीमा के गर्ने भनेर केन्द्रको निर्देशन मागेका छौँ,’ उनले भने, ‘सुदूरपश्चिममा अन्यत्र भने कांग्रेससँग तालमेलको सम्भावना छैन ।’ तालमेल हुने सम्भावना रहेकाले समन्वय समितिको उम्मेदवार पनि छनोट नगरिएको उनले बताए ।

कांग्रेसका प्रदेश प्रवक्ता रावतले कैलालीमा एमालेले कांग्रेसलाई सहयोग गर्नेबारे अनौपचारिक सहमति भइसकेको दावी गरे । दुई दलको छलफलमा कैलालीमा एमालेले कांग्रेसलाई सघाउने भनि सकेको उल्लेख गर्दै उनले २ मंसिरमा बस्ने दुई पार्टीको प्रदेशस्तरीय संयन्त्रको बैठकले यसबारे निर्णय गर्ने बताए ।

कांग्रेसले समन्वय समिति प्रमुखमा केशवराज पन्तलाई उम्मेदवार बनाउने निर्णय यसअघि गरेको थियो । तर, निर्वाचन आयोगले महिला उम्मेदवार बनाउन भनेकाले अहिले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरिएको रावतले बताए । माओवादीले भने समन्वय समितिमा उम्मेदवारी नदिने बताएको छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा सत्तारुढ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको बहुमत पुग्छ । 

जिल्ला समन्वय समितिका प्रमुख पदमबहादुर कलेलको २३ पुस ०७९ मा निधन भएको थियो । उनी कांग्रेसबाट निर्वाचित भएका थिए । उपप्रमुखमा ओवादीका खगराज भुसाल छन् । यस्तै, काँग्रेसबाट निर्वाचित स्वामी कार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको गत वर्ष माघमा क्यान्सरका कारण निधन भएको थियो । स्वामीकार्तिकमा कांग्रेसलाई एकीकृत समाजवादीले सघाउने गरी छलफल भइरहेको कांग्रेस नेताहरूले बताएका छन् ।

गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित सुर्मा–४, का वडाध्यक्ष सर्जन बोहरा, पुर्वीचौकी–६ का वडाध्यक्ष पुष्पराजजोशी, दुहु–५, का वडाध्यक्ष मनोरथ भट्ट र भीमदत्त–६ का वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । बोहरा एमालेबाट, जोशी र खड्का कांग्रेसबाट तथा भट्ट माओवादीबाट निर्वाचित भएका थिए । 

सुझावित समाचार