प्रदेश सभा सदस्य विमला गौचनको पार्थिव शरीरलाई म्याग्दी लगियो

शनिबार, १ मंसिर, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको पार्थिव शरीरलाई पाेखराबाट म्याग्दी लगिएको छ।डेंगुको उपचारका क्रममा बुधबार राति निधन भएकी प्रदेश सभा सदस्य गौचनको शव गण्डकी प्रदेश सभा प्रांगणमा श्रद्धाञ्जली दिएपछि म्याग्दी लगिएको हो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, प्रदेश सभा सदस्य, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, आफन्तहरू र सर्वसाधारणलगायतले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण  गरेका थिए। 

गौचनको पार्थिव शरीरमा मुख्यमन्त्रीले राष्ट्रिय झन्डा ओढाएका थिए। यसैगरी, शर्माले पार्टीको झन्डा र थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनसँगै प्रतिनिधिसभा सदस्य योगेश गौचनले थकाली सेवा समाजको झन्डा ओढाएका थिए। 

काठमाडौंको ग्रान्डी अस्पतालमा डेंगुको उपचारका क्रममा उनको बुधबार राति ६३ वर्षको उमेरमा निधन भएको थियो। मुस्ताङको कोबाङमा विसं २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ। 

उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिएकी थिइन्। उनको अन्त्येष्टि म्याग्दीमा आजै गरिनेछ।

सुझावित समाचार