अफगानिस्तानका अलराउन्डर इस्मत आलमले नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले पाँचौँ विदेशी खेलाडीका रूपमा आलमलाई टोलीमा आबद्ध गरेको हो । आलमले टी–२० मा २२५ रन तथा १० विकेट लिएका छन् । आलमले ९२ को रन औसतमा सात पहिलो श्रेणीको खेलमा ७३६ रनसमेत बनाएका छन् ।
विराटनगरले यसअघि ओमानका अकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्तन, न्युजिल्यान्डका मार्टिन गुप्तिल र स्कटल्यान्डका तीव्र गतिका बलर क्रिस सोललाई अनुबन्ध गरेको थियो । विराटनगरले आयरल्यान्डका पूर्वक्रिकेटर केबिन ओ’ब्राइनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
यस टोलीका मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने हुन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आठ टोलीको सहभागितामा एनपिएल १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।