महिला युवा टोली टी–२० विश्वकपमा

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

पहिलो संस्करणको विश्वकप खेलिसकेको घरेलु टिम युएईलाई आठ विकेटले हराउँदै रनरेटका आधारमा नेपालले पहिलोपटक सुनिश्चित गर्‍यो विश्वकपको यात्रा

निर्णायक खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल आइसिसी यू–१९ महिला विश्वकपका लागि छनोट भएको छ । पहिलो संस्करणको विश्वकप खेलिसकेको घरेलु टिम युएईलाई हराउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । अब नेपालले आइसिसी यू–१९ महिला टी–२० विश्वकप २०२५ खेल्नेछ । यू–१९ टी–२० विश्वकप आगामी वर्षको १८ जनवरीदेखि २ फेब्रुवरीसम्म मलेसियामा हुँदै छ ।

बुधबारको खेलमा नेपालले युएईलाई आठ विकेटले हरायो । एसिया छनोटमा नेपाल नेट रनरेटमा युएईलाई पछि पार्न सफल भएको हो । ६ खेलबाट दुवै टोलीको समान १० अंक रह्यो । नेपालको नेट रनरेट ३.९३ रहँदा युएईको ३.७७ रह्यो । यदि नेपाल खेलमा १६.२ ओभरमा विजयी नभएको भए युएईले लगातार विश्वकपमा स्थान बनाउने थियो । 

टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८४ रनको सामान्य लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै जित पक्का गर्‍यो । सन् २०२७ को विश्वकप भने नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दै छन् । 

नेपालका लागि ओपनर साना प्रभिनले सर्वाधिक ३५ रन बनाइन् । उनले ४२ बलमा एक चौका प्रहार गरेकी थिइन् । त्यस्तै, कप्तान पूजा महतोले १८ बलमा चार चौकासहित २१ रन बनाउँदा सोनी पाख्रिन १३ रनमा अविजित रहिन् । ओपनर सावित्री धामीले १२ रन जोडिन् । नेपालले अतिरिक्त पाँच रन पाएको थियो । 

युएईकी मेहाक थाकुरले दुई विकेट लिइन् । यसअघि युएईका लागि कप्तान समाइरा धर्निधर्काले ४८ बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाइन् । रिनिथा रन्जिथले २०, ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएका थिए । 

निर्णायक खेलमा नेपालका लागि कृष्मा गुरुङले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभरमा १७ रन दिएकी हुन् । रिया शर्मा र सीमा केसीले समान दुई विकेट लिएका थिए । रचनाकुमारी चौधरीको नाममा एक विकेट रह्यो । 

एकै समूहमा अस्ट्रेलिया र नेपाल
विश्वकपमा नेपालले समूह ‘डी’मा स्थान बनाएको छ । समूहमा बलियो अस्ट्रेलियासँगै बंगलादेश र स्कटल्यान्ड छन् । पहिलो संस्करण सेमिफाइनलमा पुगेको अस्ट्रेलिया र नेपालबिचको खेल २२ जनवरीमा छ । त्यसअघि नेपालले पहिलो खेल १८ जनवरीमा बंगलादेशसँग खेल्ने तालिका छ ।

ठुलो उपलब्धि हासिल गर्‍यौँ : चतुरबहादुर चन्द, अध्यक्ष, क्यान
घरेलु प्रतियोगितादेखि नै राम्रो तयारी गर्‍यौँ । विभिन्न प्रतियोगितासँगै खेलाडी पछिल्लो एक वर्ष निकै व्यस्त रहे । त्यसैको नतिजाअनुसार हामीले महिला क्रिकेटमा नयाँ उपलब्धि हासिल गरेका छौँ । विश्वकप खेल्न सकिन्छ भन्ने आत्मविश्वास थियो । कोचिङ स्टाफले पनि मिहिनेत गरे । खेलाडीमा जित्नैपर्ने मानसिकता भएको वेला युएईविरुद्ध निर्णायक खेल खेल्यौँ । अब, विश्वकपमा नतिजा देखिने गरी अभ्यास गर्छाैँ, सहभागी मात्रै हुँदैनौँ । खेलाडीको हौसला वृद्धि गर्न चाँडै पुरस्कार घोषषा गर्छाैँ ।

सुझावित समाचार