पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदै नेपाल

बुधबार, २८ कार्तिक, २०८१
डिजिटल संस्करण
पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदै नेपाल

फाइल तस्बिर

२९ जेठमा विश्वकप छनोट खेलेको नेपाल आज ताजकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसपछि शनिबार नेपालको सामना अफगानिस्तानसँग हुनेछ । यी दुवै खेल फिफाको विन्डो दिनमा हुन लागेको हो । नेपाल पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । नेपालले अन्तिमपटक अन्तर्राष्ट्रिय खेल २९ जेठमा खेलेको थियो । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत नेपालले साउदी अरेबियामा यमनले प्रतिस्पर्धा गरेको थियो । यमनविरुद्धको खेलपछि सिनियर पुरुष खेलाडी एकैपटक पाँच महिनापछि मैदानमा उत्रन लागेका हुन् । यसबिचमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रयाससमेत गरेन ।

फिफाको अनुसार विन्डो दिन दुई राष्ट्रबिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गराउन सकिन्छ । गत सेप्टेम्बरमा फिफा विन्डो दिन भए पनि एन्फाले यसको सदुपयोग गरेन । एन्फाले ताजकिस्तानमा हुने मैत्रीपूर्ण खेलका लागि खेलाडीलाई दुई महिनाको प्रशिक्षण राखेको थियो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक भिसेन्जोको सम्झौता नभएपछि एन्फाले पूर्वराष्ट्रिय खेलाडी नवीन न्यौपानेलाई कार्यवाहक प्रशिक्षक बनाएको छ । न्यौपानेको प्रशिक्षणमा खेलाडीले दुई साता प्रशिक्षण गर्दै प्रतिस्पर्धाका लागि तयारी गरेका हुन् । यही दुई साताको तयारीका साथ नेपालले ताजकिस्तान र अफगानिस्तानविरुद्ध खेल्न लागेको हो । 

ताजकिस्तान र अफगानिस्तान वरीयतामा माथि
नेपालभन्दा फिफा वरीयतामा ताजकिस्तान र अफगानिस्तानमाथि छन् । फिफा वरीयतामा नेपाल १७६औँ स्थानमा छ । ताजकिस्तान १०५औँ र अफगानिस्तान १५१औँ स्थानमा छन् । नेपालका कार्यवाहक प्रशिक्षक न्यौपानेले शारीरिक रूपमा बलियो घरेलु टोली ताजकिस्तानविरुद्ध आक्रामक शैलीमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

तथ्यांकअनुसार नेपाल र ताजकिस्तानबिच दुईपटक अन्तर्राष्ट्रिय खेल भएका छन् । दुई टोलीबिच यो तेस्रो भेट हो । नेपालले अन्तिमपटक ताजकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको सात वर्षअघि हो । सन् २०१७ मा एएफसी एसियन कप छनोटका दुवै लेगमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो लेगमा २–१ र दोस्रो लेगमा ३–० ले हार्यो । 

बलियो प्रतिस्पर्धी ताजकिस्तान र अफगानिस्तान
नेपालले प्रतिस्पर्धा गर्न लागेका ताजकिस्तान र अफगानिस्तानले युरोपियन बेसमा फुटबल खेलिरहेका छन् । घरेलु संरचना र पूर्ण व्यावसायिक खेलाडीले भरिएको ताजकिस्तानलाई बलियो प्रतिद्वन्द्वीका रूपमा कप्तान किरण चेम्जोङले लिएका छन् । ‘सबै पक्षमा उनीहरू हामीभन्दा बलियो भए पनि मानसिक रूपमा ताजकिस्तानविरुद्ध भिड्न तयार छौँ,’ उनले भने । नेपालले शनिबार अफगानिस्तानविरुद्ध खेल्नेछ । नेपाले अन्तिमपटक अफगानिस्तानसँग सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । 

अञ्जनलाई कीर्तिमान रच्न एक गोल आवश्यक
स्ट्राइकर अञ्जन खड्कालाई नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड राख्ने अवसर मिलेको छ । नेपालबाट अञ्जनसहित पूर्वकप्तान हरि खड्का र नीराजन रायमाझीले सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अञ्जनले ताजकिस्तानविरुद्ध गोल गर्दा उनले नेपाली फुटबल इतिहासम एउटा रेकर्ड आफ्नो नाममा राख्नेछन् । चोटका कारण उनले विश्वकप छनोटअन्तर्गत युएई र यमनविरुद्ध खेल गुमाएका थिए । 

See More On

सुझावित समाचार