मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित सातविरुद्ध सात दिनको म्याद थप

बुधबार, २८ कार्तिक, २०८१
डिजिटल संस्करण

मानव तस्करी तथा लिखत किर्ते अभियोगमा प्रहरी हिरासतमा रहेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित सात अभियुक्तविरुद्ध सात दिनको म्याद थप भएको छ । तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले २५ कात्तिकमा विराटनगरबाट पक्राउ गरेको थियो । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंका हिरासत कक्षमा राखिएको छ । उनीविरुद्ध यसअघि दुई दिन म्याद थप भएको थियो ।

एसएसपी वसन्त रजौरे प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौं
घटनामा केही व्यक्ति पक्राउ परेका छन् । उनीहरूसँग अधिकारीको टेलिफोन सम्पर्क हुने गरेको देखिएको छ । त्यस सम्बन्धमा प्रहरी अनुसन्धानरत छ । नयाँ तथ्य खुल्दै जालान् । 

अनुसन्धानले जटिल मोड लिएको भन्दै प्रहरीले अधिकारीसहित सातैजनाविरुद्ध अदालतसमक्ष १० दिनको म्याद मागेको थियो । तर, जिल्ला अदालत काठमाडौंले उनीहरूविरुद्ध सात दिनको मात्रै म्याद दिएको छ । जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले अधिकारीसहित सातजनाविरुद्ध सात दिनको म्याद थप भएको बताए । ‘कोशी प्रदेशका निवर्तमान मन्त्रीसहित सातजनाविरुद्ध सात दिनको म्याद थप भएको छ । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र किर्ते कसुरमा म्याद थप भएको हो । थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले अदालतसमक्ष म्याद माग गरेको थियो । सोही आधारमा उनीहरूविरुद्ध सात दिनको म्याद थप भएको हो,’ उनले भने ।

प्रहरीले अधिकारीसँग बयान लिइसकेको छैन । घटनासँग सम्बन्धित प्राविधिक अनुसन्धानबाट प्राप्त प्रमाण संकलनमा अहिले प्रहरी जुटेको छ । तर, अन्य अभियुक्तसँग भने प्रहरीले प्रारम्भिक बयान लिइसकेको छ । प्राविधिक अनुसन्धानका क्रममा अधिकारी र घटनामा संलग्नबीच पटक–पटक टेलिफोन सम्पर्क भएको देखिएको छ । विशेषगरी घटनाका मुख्य योजनाकार महेश पाण्डेसँग अधिकारीको बाक्लो टेलिफोन सम्पर्क भएको देखिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले घटनासँग सम्बद्ध अभियुक्तसँग अधिकारीको टेलिफोन सम्पर्क हुने गरेको अनुसन्धानबाट खुलेको बताए । ‘घटनामा केही व्यक्ति पक्राउ परेका छन् । उनीहरूसँग अधिकारीको टेलिफोन सम्पर्क हुने गरेको देखिएको छ । त्यस सम्बन्धमा प्रहरी अनुसन्धानरत छ । नयाँ तथ्य खुल्दै जालान्,’ उनले भने ।

जापान जाने क्रममा खोटाङकै केपिलासगढी गाउँपालिका– ४ का जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ कञ्चन देवकोटाको कोशी प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायक कर्मचारी उल्लेख भएको परिचयपत्र बनाइएको थियो । उक्त परिचयपत्र अधिकारीकै परामर्शमा बनाइएको अनुसन्धानबाट खुलेको छ । त्यस्तै, खोटाङ ऐँसेलुखर्क गाउँपालिका– २ का दावा शेर्पाको खोटाङ ऐँसेलुखर्क गाउँपालिकाको वडासदस्य उल्लेखित परिचयपत्र बनाइएको थियो । यसका लागि पाण्डेले जनही १० देखि १३ लाख रुपैयाँ असुलेका थिए । यसबापत अधिकारीसँगै तीनैजनालाई जापान लैजाने भनिएको थियो । यसको जानकारी पाण्डेले अधिकारीलाई पनि गराएका थिए । 

अधिकारीसँगै गत ११ कात्तिकमा जापानको राजधानी टोकियोस्थित टोकियो महानगरपालिका आयोजना हुने भनिएको सांस्कृति कार्यक्रममा सहभागी हुन भन्दै दावा, जनक र कञ्चन जापान हिँडेका थिए । तर, उनीहरूलाई टोकियो अन्तर्राष्ट्रिय विमानस्थलस्थित जापानी अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरेपछि उनीहरू गत १४ कात्तिकमा नेपाल फर्किएका थिए ।

सुझावित समाचार