सल्यान कपुरकोटमा कोल्डस्टोर निर्माण

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

बेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध सल्यानको कपुरकोटमा काेल्डस्टोर सञ्चालन गरिएको छ । किसानले उत्पादन गरेको तरकारीको भण्डारका लागि १० मेट्रिकटन क्षमता भएको कोल्डस्टोर निर्माण गरिएको हो । कपुरकोट गाउँपालिका बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रको रूपमा विगतदेखि परिचित छ। यस क्षेत्रका करिब तीन हजार दुई सय किसान व्यावसायिक तरकारी खेतीमा आबद्ध छन्। यस सिजनको हालसम्म मात्रै कपुरकोट क्षेत्रका किसानले ४३ करोड ९६ लाख रुपैयाँभन्दा बढीको ताजा तरकारी र फलफूल बिक्री गरेका छन्। 

हाटबजार परिसरमै कोल्डस्टोर निर्माण भएपछि तरकारी उत्पादन गर्ने किसान तथा बाहिरी जिल्लाबाट तरकारी खरिद गर्न आउने व्यापारीलाई धेरै राहत मिलेको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले बताए।उनले भने, ‘किसानले कपुरकोटमा मंगलबार र शुक्रबार दुई दिन लाग्ने हाटबजारमा तरकारी बिक्री गर्न ल्याउँछन्, कहिलेकाहीँ धेरै भएका वेला उनीहरूले बिक्री गर्न ल्याएको तरकारी त्यत्तिकै खेर जाने गर्थेे, कुहिएर जानुभन्दा किसानले सस्तोमा तरकारी बिक्री गरेर घर फर्कन्थे, अब उनीहरूले हतार गरी तरकारी बिक्री गर्नुपर्दैन, बिक्री नभएको तरकारी किसानले एक–दुई दिनसम्म कोल्डस्टोरमा राखेर बिक्री गर्न सक्छन् ।’ 

कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, रिम र बगाले गरी तीन स्थानमा छुट्टाछुट्टै दिनमा हाटबजार लाग्ने भएकाले खरिदकर्ताले किनेर ल्याएको तरकारी भण्डारणसमेत गर्न पाउने उनको भनाइ छ । कोल्डस्टोर निर्माण गरे पनि किसानले हाटबजारमा बिक्री गर्न ल्याएका तरकारी व्यवसायी र कृषि एम्बुलेन्समार्फत धमाधम बाहिर गइरहेकाले अहिलेसम्म स्टोर गर्न नपरेको उनको भनाइ छ। अहिले निर्माण गरेको कोल्डस्टोर सबै किसानका लागि पर्याप्त नभए पनि हाटबजारमा बिक्री नभएका तरकारी राखेर किसानले अर्काे दिनमा बिक्री गर्न पाउने र माग बढेको वेला पनि बिक्री गर्न सक्ने कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले तरकारी बिक्री नभएको अवस्थामा कुहिएर खेर जानुभन्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि कृषि एम्बुलेन्स र कोल्डस्टोर सञ्चालन गरिएको बताए। व्यापारीले एकैपटक धेरै लान नसकेका तरकारी एक–दुई दिनका लागि भण्डारण गरेर राख्न, विपतमा सडक अवरुद्ध भएका वेला बिक्री नभएर तरकारी त्यत्तिकै खेर जानबाट बचाउन यसको महत्त्व भएको उनको भनाइ छ।

गत सिजनमा मात्रै कपुरकोट क्षेत्रबाट ४८ लाख ५७ हजार २४६ किलो ताजा तरकारी तथा फलफूल बिक्रीबाट २६ करोड ६४ लाख चार हजार ८६१ रुपैयाँ किसानले हात पारेका थिए। नर्वेजियन राजदूतावासको आर्थिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रको साझेदारीमा सञ्चालित नवीकरणीय ऊर्जा व्यवस्थापन तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत कपुरकोट गाउँपालिकाको सहकार्यमा ५० लाख अनुदानमा उत्पादित तरकारी भण्डारण गर्न विद्युत् तथा सोलारबाट चल्ने कोल्डस्टोर कपुरकोट बजारमा निर्माण गरिएको हो ।

सुझावित समाचार