युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको पाँचौँ खेलमा आज नेपाल र कुवेतबिच प्रतिस्पर्धा हुँदै छ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयअनुसार ११:१५ बजे खेल सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाँचौँ खेल हो ।
नेपालले यसअघि तीन खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। यस्तै, दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो ।
नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । चौथो खेलमा आइतबार थाइल्यान्डलाई १०६ रनले पराजित गरेको थियो ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ ।