आज लामिछानेलाई रुपन्देही लगिन खाेजे पनि मौसम खराबीका कारण विमानस्थलमै

विहान सात बजेको उडान मार्फत भैरहवा विमानस्थल हुँदै रुपन्देहीको बुटवल लैजाने तयारीसहित प्रहरीले लामिछानेलाई पोखरा विमानस्थल लगेको थियो

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि २ कात्तिकदेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिने भएको छ । 

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर खर्च भएको सम्बन्धमा बयानसँगै अनुसन्धानका लागि लामिछानेलाई रुपन्देही लगिन लागिएको हो ।

बिहान ७ बजेको उडानमार्फत भैरहवा विमानस्थल हुँदै रुपन्देहीको बुटवल लैजाने तयारीसहित प्रहरीले लामिछानेलाई पोखरा विमानस्थल लगेको थियो। बाक्लो कुहिरोेका कारण मौसममा आएको खराबीले गर्दा जहाज उड्न नसक्दा लामिछाने विमानस्थलमै रोकिएका छन् ।

२ कात्तिकदेखि हिरासतमा रहेका लामिछानेलाई आइतबार प्रहरीले १३ दिन म्याद थप गरेसँगै रुपन्देही पठाउन लागेको हो । लामिछानेलाई रुपन्देही पठाइदिन रुपन्देही प्रहरीले कास्की प्रहरीलाई एक साताअघि पत्राचारसमेत गरेको थियो । त्यसअघि ८ कात्तिकमा रुपन्देही जिल्ला अदालतले लामिछानेसँगै १२ जनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ। सुप्रिमको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडियामा गएको समितिको प्रतिवेदनमा उल्लेख छ । 

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई रुपन्देही प्रहरीले सुप्रिमको बचत रकम दुरुपयोगसम्बन्धी बयानका लागि ५ कात्तिकमा रुपन्देही लगेर बयान लिएर ७ गते पोखरा ल्याएको थियो । लामिछानेसँगै जोशी पनि कास्की प्रहरी हिरासतमा छन् ।  

सुझावित समाचार