६ सय हप्तामा बागमती कति सफा भयो ?
हामीले यस अवधिमा करिब २० हजार मेट्रिक टन फोहोर नदीबाट निकाल्यौँ । नदी किनारमा तीन दर्जनजति बगैँचा निर्माण गर्यौँ । बागमती किनारमा मात्र ६ हजारभन्दा बढी रुख हुर्काएका छौँ । विष्णुमती र धोबीखोला करिडोरमा त्योभन्दा बढी रुख हुर्केका छन् । यसले गर्दा पहिले नाक थुनेर पनि हिँड्न मुस्किल पर्ने बागमती किनारमा अहिले मानिसहरू ढुक्कले मर्निङ वाकमा निस्किने, योग गर्ने, टहलिनेजस्ता कार्य भइरहेका देखिन्छन् । बागमती सफाइ महाअभियानबाट प्रेरित भई देशभर ९० भन्दा बढी स्थानमा नदी तथा सहरबजार सरसफाइ अभियान चलिरहेको छ । समग्रमा यस अभियानले देशभर सफाइको लहर ल्याएको छ ।
सहायक नदीहरूको सरसफाइ नगरी बागमती कसरी सफा होला र ?
विष्णुमती, धोबीखोलालगायत बागमतीका सहायक नदीहरूमा पनि सरसफाइ अभियान सुरु भएको छ । काठमाडौं महानगरका मेयर बालेनले पनि सहर सफाइ अभियान चलाइरहनुभएको छ । गत जेठदेखि तारकेश्वर नगरपालिकाले पनि यो अभियान सुरु गरेको छ । सरसफाइ अभियानको मुख्य चुनौती ढल व्यवस्थापन बनेको छ । ढल व्यवस्थापन प्रभावकारी र नतिजामुखी हुन सकेको छैन । हाम्रो स्वयंसेवी अभियानले ढल व्यवस्थापन गर्न सक्दैन । यो काम सरकारले नै गर्नुपर्छ । स्थानीय तहहरूले फोहोर उठाएर डम्पिङ साइटमा पठाउने मात्र होइन, फोहोर निष्कासन नै कम गराउनुपर्छ । वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्छ । अटेर गर्नेहरूका लागि दण्डविधान सक्रिय पार्नुपर्छ ।
उपत्यकाका नदीहरूमा जलचर कहिलेसम्म देख्न पाइएलान् ?
यसको उत्तर हामीले भन्दा पनि सरकारी निकायले दिनुपर्छ । उहाँहरूले जति छिटो ढलको प्रभावकारी व्यवस्थापन गर्नुहुन्छ, त्यति नै छिटो नदीमा जलचर देख्न सकिन्छ । हामी पनि उहाँहरूबाट यही प्रश्नको उत्तर खोजिरहेका छौँ ।