जापान मानव तस्करी प्रकरण : प्रदेश सभाद्वारा सांसद अधिकारी पक्राउबारे सूचना प्रकाशित

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

कोशी प्रदेश सभाका सांसद तथा निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी आरोपमा पक्राउ परेको जानकारी प्रदेश सभामा पुगेको छ। सोमबार सभामुख अम्बरबहादुर विष्टको आदेशमा कार्यवाहक प्रदेश सभा सचिव गौतम आमात्यले मानव तस्करी आरोपमा सांसद अधिकारी पक्राउ परेको सूचना प्रकाशित गरेका छन्।

प्रहरी अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौंले पठाएको पत्रअनुसार सांसद अधिकारी मानव बेचबिखन कसुरमा अनुसन्धानका लागि २५ कात्तिकमा पक्राउ परिसकेकाले प्रदेश सभा नियमावली १९० को उपनियम २ बमोजिम जानकारीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको कार्यावाहक सचिव अमात्यले जनाएका छन्।

अनुसन्धानमा दोषी पाइएमा सभामुखले सांसद अधिकारीलाई नियमावली १९० को उपनियम ३ र ४ अनुसार निलम्बन गर्न सक्नेछन्।

यता एमाले कोशी प्रदेश संसदीय दलले २४ घण्टाभित्र आफैँ आएर चित्तबुझ्दो जवाफ बुझाउन आइतबारै सांसद अधिकारीलाई चेतावनी दिइसकेको छ। जवाफ नबुझाएमा वा चित्तबुझ्दो नभएमा सांसद अधिकारी स्वतः निलम्बनमा पर्नेछन्। एमाले कोशी प्रदेश समितिले पनि अधिकारीलाई सबै पदबाट निलम्बन गरिसकेको छ।

मानव तस्करी आरोपमा मुछिएर प्रदेशवासीको शिर निहुर्‍याएको भन्दै विपक्षी दलहरू माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले अधिकारीमाथि गहन छानबिन गर्न माग गरेका छन्।

सुझावित समाचार