अरूलाईझैँ मंगलबार बेलुका राष्ट्रपतीय चुनावको नतिजा आएदेखि यो कसरी हुन सक्छ वा यो कसरी सम्भव भयो भनेर मेसेज आइरहेका थिए । उसो त डोनाल्ड ट्रम्पले यो चुनाव सजिलै जित्नेमा म पूर्ण विश्वस्त थिएँ भनेर मेरा केही साथी, सहकर्मी र परिचितलाई थाहा थियो, तथापि प्रत्येक मेसेजको विस्तृत जवाफ दिनुको सट्टा म यो सानो आलेखबाट स्पष्टीकरण प्रस्तुत गर्नेछु ।
कम्तीमा प्लेटोको रिपब्लिक प्रकाशित भएयता अर्थात् दुई हजार तीन सय वर्षदेखि लोकरिझ्याइँवादी र महत्वाकांक्षी तानाशाहले कसरी लोकतान्त्रिक चुनाव जित्छन् भन्ने धेरैलाई थाहा छ । प्रक्रिया स्पष्ट छ र हामीले अहिले यसले कसरी काम गर्छ भनेर देख्यौँ पनि । लोकतन्त्रमा सरकारका संस्थाको नेतृत्व वा अध्यक्षता गर्न पूर्ण रूपमा अनुपयुक्त व्यक्तिसहित जोकोही पनि पदका लागि प्रतिस्पर्धा गर्न स्वतन्त्र छ । अनुपयुक्तताको एक सांकेतिक चिह्न भनेको हाकाहाकी झुट बोल्ने सामथ्र्य हो विशेषतः त्यस्ता झुट जहाँ जनताका कथित बाह्य र आन्तरिक दुवै शत्रुविरुद्ध आफूलाई रक्षकका रूपमा प्रतिनिधित्व गरिन्छ । प्लेटोले साधारण मानिस लोकरिझ्याइँवादीका भावनाद्वारा सजिलै नियन्त्रित हुने गरेको तर्क गरेका थिए । लोकरिझ्याइँवादीका वाचा र झुटबाट जनता सहजै प्रभावित हुने तर्क नै लोकतान्त्रिक राजनीतिक दर्शनको वास्तविक आधार हो ।
विभिन्न दार्शनिकले यसप्रकारको राजनीति सधैँ सफल हुन्छ भन्ने देखिँदैन भनेर बुझेका छन् । फ्रान्सेली दार्शनिक रुसोले तर्क गरेझैँ समाजमा असमानता दिनानुदिन बढ्दै गएको वेला लोकतन्त्र सबैभन्दा कमजोर हुन्छ । गहिरो सामाजिक र आर्थिक असमानताले लोकरिझ्याइँवादी जनतालाई असन्तुष्टिको सिकार बनाउँछन् र लोकतन्त्र अन्ततः प्लेटोले वर्णन गरेको ढंगले गर्तमा खस्ने अवस्थामा पुग्छ । तसर्थ, लोकतन्त्रलाई व्यापक समानता चाहिन्छ तब मात्र जनताको असन्तुष्टिलाई सहजै दोहन गर्न सकिँदैन भनेर रुसोले निष्कर्ष निकालेका थिए ।
वास्तवमा अमेरिका विशाल सम्पत्ति असमानताले चिनिएको छ, यहाँ सामाजिक सौहार्दता कमजोर छ र नश्लीय आक्रोश बलियो छ
मेरा आफ्नै काममा किन र कसरी अपमानित महसुस गर्ने मानिस (भौतिक वा सामाजिक रूपमा) सहजै जातिवाद/नश्लवाद, समलैंगिकता द्वेष, स्त्रीद्वेष, जातीय राष्ट्रवाद र धार्मिक कट्टरतालाई स्विकार्न आउँछन् भनेर उल्लेख गरेको छु । तर, यदि जनतामाझ पर्याप्त समानता छ भने उल्लिखित सामाजिक बेथितिलाई जनताले सहजै अस्वीकार गर्छन् । र, स्वस्थ एवं स्थिर लोकतन्त्रका लागि आवश्यक ती भौतिक अवस्था हालको अमेरिकामा देखिँदैन । वास्तवमा अमेरिका विशाल सम्पत्ति असमानताले चिनिएको, सामाजिक सौहार्द्रता कमजोर भएको र नश्लीय आक्रोश बलियो बनेको छ । यस्तो परिस्थितिमा लोकतन्त्र दिगो हुँदैन भनेर दुई हजार तीन सय वर्षको लोकतान्त्रिक राजनीतिक दर्शनले देखाएको छ ।
तसर्थ, सन् २०२४ को निर्वाचन नतिजालाई लिएर अचम्म मान्नुपर्दैन । अमेरिकामा पहिले यस्तो किन देखिएन भनेर प्रश्न आउन सक्छ ? मोटामोटी रूपमा राजनीतिज्ञबिच असाधारण विभाजनकारी र हिंसात्मक राजनीतिमा संलग्न नहुने अनौपचारिक सहमति नै थियो । सन् २००८ को चुनावलाई नै हेरौँ, रिपब्लिकन उम्मेदवार जोन म्याकेनले बाराक ओबामाको जन्मबारे नश्लवादी पूर्वाग्रही धारणा वा षड्यन्त्र सिद्धान्त उछाल्न सक्थे, तर उनले त्यो बाटो अपनाएनन् ।
उनले एकपटक आफ्नै समर्थकमध्ये एकलले डेमोक्याटिक उम्मेद्वार विदेशमा जन्मेका ‘अरब’ हुन् भन्ने अभिव्यक्ति दिँदा सच्याएका थिए । म्याककेन चुनावमा पराजित भए पनि उनलाई निष्ठावान् अमेरिकी राजनेताका रूपमा सम्झिइनेछ ।
निःसन्देह अमेरिकी राजनीतिज्ञले चुनाव जित्न नश्लवाद र समलिंगीद्वेषलाई सूक्ष्म एवं परोक्ष ढंगले उछाल्थे, किनभने यो एक सफल रणनीति थियो । तर, स्पष्ट रूपमा नेतामाझ नश्लवादलाई खुला रूपमा नउछाल्ने मौन सम्झौता थियो, जसलाई राजनीतिक सिद्धान्तकार टाली मेन्डेलबर्ग समानताको मानकको संज्ञा दिन्छन् । बरु राजनीतिक वक्रोक्ति (डग ह्विसल) र पूर्वाग्रहयुक्त धारणा ( उदाहरणका लागि अश्वेत समुदायलाई तारो बनाएर ‘सहरका भित्री भागमा अल्छी र अपराधी’ छन् भन्ने भनाइ) प्रयोग हुन्थ्यो । सन् २०१६ पछि ट्रम्पले मेन्डलबर्गले भनेको समानताको मानकलाई खुल्लमखुल्ला लत्याए ।
उनले आप्रवासीलाई धमिरा र आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई ‘भित्रिया शत्रु’को संज्ञा दिए । यो राजनीतिले स्पष्ट रूपमा ‘अन्यविरुद्ध हामी’को भाष्यलाई मलजल गर्यो, जुन विभिन्न दार्शनिकका अनुसार अत्यधिक प्रभावकारी हुन सक्छ ।
यस अर्थमा लोकतान्त्रिक राजनीतिक दर्शनको विश्लेषण ट्रम्पको विजयमा सही प्रमाणित भएको छ । यसले अब के हुनेछ भन्नेमा पनि स्पष्ट भविष्यवाणी प्रदान गर्छ ।
प्लेटोले लोकरोझ्याइँवादी व्यक्ति सत्तामा आउँदा तानाशाहका रूपमा शासन गर्नेछ भनेका थिए । ट्रम्पले यो चुनावी अभियानका दौरान र उनको पहिलो कार्यकालमा भनिएका र गरिएका सबै कुराबाट हामी प्लेटो पुनः प्रमाणित भइरहेका छन् भन्न सक्छौँ । सरकारका सबै अंगमा रिपब्लिकन पार्टीको वर्चस्वले अमेरिकालाई एकदलीय राज्य बनाउनेछ । भविष्यले कहिलेकाहीँ अरूलाई शक्तिका लागि प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न सक्छ, तर सबै राजनीतिक प्रतिस्पर्धा सम्भवतः स्वतन्त्र र निष्पक्ष चुनावका रूपमा योग्य हुनेछैनन् ।
(स्ट्यान्ली येल विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट