यू–१९ विश्वकप एसिया छनोट–२०२४ : नेपालसँग थाइल्यान्ड १०६ रनले पराजित

१४० रन पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपालले आइसिसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियन छनोटमा आइतबार थाइल्यान्डलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । छनोट प्रतियोगितामा नेपालले चारमध्ये तीन खेलमा जित निकाली ६ अंक बटुलेको छ । लिग चरणमा नेपालले थाइल्यान्डलाई दुई र कुवेतलाई एकपटक हराएको छ । नेपाल तेस्रो खेलमा युएईसँग पराजित भएको थियो । 

डबल राउन्ड लिगअनुसार आफ्नो चौथो खेलमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो । प्रत्युत्तरमा थाइल्यान्ड १६ ओभरमा ३३ रनमा समेटिँदा नेपालले फराकिलो जित निकाल्यो । थाइल्यान्डलाई लगातार दोस्रोपटक हराउँदा नेपालका बलरले कसिलो बलिङ गरेका थिए । कुसुम गोदारले ९ रन खर्चेर तीन विकेट लिइन् । रिया शर्मा र रचनाकुमारी चौधरीले समान दुई विकेट हात पारे । रचनाले ६ तथा रियाले १४ रन खर्चे ।  

अतिरिक्त नै थाइल्यान्डको सर्वाधिक रन 
१४० रन लक्ष्य पछ्याएको थाइल्यान्डबाट कमजोर ब्याटिङ प्रदर्शन भयो । नेपालका बलरले कसिलो बलिङ गर्दा थाइल्यान्ड लक्ष्यसम्म पुग्न नसकेको हो । सो ब्याटिङमा थाइल्यान्डको सर्वाधिक रन नै अतिरिक्त थियो । नेपाली बलरले ११ अतिरिक्त रन दिएका थिए । थाइल्यान्डका नथरिकाले ५, सुनिसाले ५ तथा चारुका साएमाले ६ रन बनाए । थाइल्यान्डका ६ खेलाडी शून्यमा आउट भए । नाथरिकाले २७ बल सामना गरेकी थिइन् । थाइल्यान्डका कुनै पनि खेलाडीले चौका वा छक्का प्रहार गर्न सकेनन् ।

सानाको अर्धशतकीय इनिङ्स
पहिलो ब्याटिङको अवसर पाएको नेपालका लागि ओपनर साना प्रवीणले अर्धशतकीय इनिङ्सको योगदान दिइन् । उनले ४६ बलमा ५३ रन बटुलिन् । अर्का ओपनर सावित्री धामीले ३६ बलमा एक चौकाको सहयोगमा २८ रन बनाइन् । साना र सावित्रीले पहिलो विकेटका लागि १२.६ ओभरमा ८८ रनको बलियो साझेदारी गरेका थिए । नेपालले पहिलो विकेटका रूपमा सावित्रीलाई गुमाएको थियो । पहिलो विकेट बलियो भए पनि त्यसपछिका साझेदारी गतिलो हुन सकेन । अघिल्ला खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेकी पूजा महतोले पाँच बलमा ४ रन बनाइन् । सोनी पाख्रिनले १० बलमा तीन चौकाको सहयोगमा १९ रनको योगदान दिइन् । यसबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो रन बनाएनन् । 

सुझावित समाचार