खुदी सबस्टेसन निर्माण तीन महिनामा सकिने

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३, खुदीमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसन तीन महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम जारी छन् ।

मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका– १, धारापानीमा दुई सय २० केभी क्षमताको सबस्टेसन निर्माण भइरहेको छ । अहिले सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

धारापानी र खुदी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन् ।

दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिको आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो । 

सुझावित समाचार